अमेरिकामा सवारी दुर्घटनामा परी दुई नेपालीको मृत्यु
अमेरिकामा सवारी दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। अमेरिकाको केन्टकी राज्यमा गाडीको ठक्करबाट नेपालबाट घुम्न गएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटाको मृत्यु भएको बताइएको छ। बुधबार बिहान घुम्न निस्केका सापकोटा रिचमण्ड रोड र न्यु सर्कल रोड आसपासमा दुर्घटनामा परेका थिए। बिहान ७ बजेर २० मिनेटमा दुर्घटनामा परेका उनको युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल बर्दिवास, महोत्तरी घर भई ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेट्न गएको उनको पारिवारिक स्रोतले जनाएको छ। उनी सँगै घुम्न निस्केकी उनकी घाइते श्रीमति विमला सापकोटाको युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचार भइरहेको बताइएको छ। दुर्घटनापछि बन्द गरिएको त्यस क्षेत्रको बाटो खुल्न करिब ३ घन्टा लागेको थियो।
त्यस्तै अमेरीकाकै पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलबार ६१ वर्षीय कर्णबहादुर सुवेदीको पनि सडक दुर्घटनामा परि मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ। सडक पार गर्ने क्रममा स्टोन मिल रोडमा मंगलबार दिउँसो १ बजेर ४४ मिनेटमा गाडिले ठक्कर दिँदा गम्भीर घाइते भएका नेपाली–भाषी भूटानी सुवेदीलाई उपचारका लागि नजिकैको ल्यानकास्टर जनरल अस्पताल लगिएको थियो।