सुदूर नेपाललाई विश्वसँग जोड्दै

किन बोल्छ मानिसले झुट ?

२०७६ मंसिर २९, ०४:४२ खबर संवाददाता

विश्वव्यापी रुपमा फैलिएको ‘झुट’ शब्द मानिसहरुको सृष्टिप्रक्रियादेखि नै चल्दै आएको कुरा हो। परापूर्व कालमा झुटलाई नियन्त्रण गर्न असम्भव भएर नै विभिन्न किसिमका धार्मिक मान्यताहरु खडा गरेर पाप र धर्मको अवधारणालाई बाहिर ल्याइयो। झुटलाई पापको रुपमा परिभाषित गरियो । त्यसैले कसैले झुट बोलेको आशंका भयो भने उसलाई धर्म भाक्न लगाउने प्रथा अझैसम्म पनि कता कतै चलिरहेको पाइन्छ।

मानिसहरुले झुट विभिन्न किसिमले बोल्ने गर्छन्। कसैले ख्यालठट्टाको लागि पनि झुट बोल्ने गरेका हुन्छन्। यस्तो प्रचलन विशेषगरी साथीभाइहरुमा धेरै चल्ने गर्छ। कसैले आफूले गरेको नराम्रो कामको असरबाट बच्नको लागि पनि झुट बोल्ने गर्छन्। जे जस्तो भएपनि झुट बोल्ने कारणहरु भिन्नभिन्न हुन्छन्। रामायणमा श्रीरामले सीतामाथि अग्नि परीक्षा गरेको कथा सुन्न सकिन्छ। यसमा पनि झुटको नै आशंका भेट्न सकिन्छ। 

एक चर्चित मनोवैज्ञानिक एवं प्राध्यापक पल सिजरले केही समय अघि लेखेको एक पुस्तक ‘के म तिमीसँग झुटो बोल्न सक्छु?’ मा मानिसहरुले किन झुट बोल्छन्? भन्ने बारेमा स्पष्टसँग उल्लेख गरेका छन्। सो पुस्तकमा उनले झुट बोल्नुको कारणहरु समेत उल्लेख गर्दै जो कोही मानिसले पनि अवश्य झुट बोलिरहेकै हुने दाबी समेत गरेका छन्।

उनले मानिस झुट किन बोल्छ? भन्ने विषयमा पनि  विविध कारणहरु देखाएका छन्। उनका अनुसार व्यक्तिगत चाहाना वा स्वार्थको लागि धेरै मानिसहरु झुटो बोल्ने गर्छन्। त्यस्तै, गल्तीहरुको सजायबाट बच्नको लागि पनि मानिसहरु झुटो बोल्ने गर्छन्। यसका बाहेक माहोललाई सजिलो बनाउनको लागि होस् या त आत्माविश्वास बढी भएपछि पनिमानिसले झुटो बोल्ने गर्छ। त्यसैले उनीहरु भन्छन् आफ्ना लागि नै धेरै मानिसहरुले झुटो बोल्ने गरेका छन्।

सिजरको अध्ययन अनुसार झण्डै २५ प्रतिशत केटाहरु झुट बोलेकोप्रति हीनताबोध महसुस गर्दैनन् भने २२ प्रतिशत महिलाहरु यस्तो स्वभावका हुन्छन्। उनीहरु विशेषगरी आफूहरुले गरेको कामलाई लुकाउनको लागि नै बढी झुट बोल्ने गरेका हुन्छन्।

त्यस्तै, मनोविश्लेषक वासु आचार्य पनि मानिसहरुको झुट बोल्नुको कारण आ(आफ्नै किसिमको हुने बताउँछन्। धेरै मानिसहरु पछि पर्ने आपतलाई समाधान गर्न सक्छु भन्ने आत्मविश्वासका कारण पनि झुट बोल्ने गरेको बताउँछन्। यस्ता झुटहरुले उनीहरुको तत्कालीन फाइदा त होला । तर, यसले दीर्घकालीन रुपमा भने ठूलो असर पार्ने आचार्य बताउँछन्।

झुट बोल्नु मानसिक समस्या होइन। तर, मानसिक समस्या भएकाहरुले धेरै झुट बोल्न सक्ने सम्भावना भने धेरै हुन्छन। कतिपय अवस्थामा मानिसहरुले आफूले झुट नबोलेको भन्ने हुँदाहुँदै पनि झुट बोल्न पुग्छन्। यो धेरै झुट बोल्दा बोल्दैको परिणती पनि हो। -अनलाइनखबर

कमेन्ट लोड गर्नुस