सुदूर नेपाललाई विश्वसँग जोड्दै

निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने बढे

। फोटो स्रोत ।
२०७६ पुष ८, ०९:२५

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढेको छ। सुत्केरी गराउनका लागि स्वास्थ्य संस्थामा जाने महिलालाई लक्षित गरेर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेपछि अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाको संख्यामा बढेको हो। एम्बुलेन्समार्फत गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म लैजाने र बच्चा जन्माएपछि घरसम्मै र्पुयाउने व्यवस्था मिलाइएपछि स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाको संख्या बढेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए। 

सुत्केरी महिला र शिशुको जीवन रक्षाका लागि गाउँपालिकाले २०७४ साल साउनदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो। अस्पताल जानका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्यको प्रयासस्वरुप खोटाङ सेवा समाज (यूके) ले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो। त्यसमध्ये ऐँसेलुखर्क क्षेत्रका लागि उपलब्ध गराइएको एम्बुलेन्सलाई गाउँपालिकाले जिम्मा लिएर सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस