सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भित्रियो ‘कोरोना भाइरस’, के हो कोरोना भाइरस ?

२०७६ माघ ३, १०:२४

एक नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। उनी चीनको वुहानबाट फर्केका थिए। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयलाई सतर्कता अपनाउन चेतावनी दिएको केही दिनपछि काठमाडौंमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन्।

ती विद्यार्थीलाई अस्पतालमा निगरानीमा राखिएको छ। 

के हो कोरोना भाइरस ?
कोरोना भाइरसको समूहको एउटा हिस्सा हो, जसबाट सामान्य रुघाखोकीदेखि लिएर घातक रोगसम्म हुन सक्छ । कोरोना भाइरसको संक्रमण सामान्यतया पशु र मानिसमा हुन्छ र हाल यस्ता कतिपय भाइरस छन्, जो पशुमा भए पनि मानिस त्यसबाट संक्रमित भएका छैनन् । सन् २००३ मा चीनलगायत एसियामा यस्तै ‘सार्स भाइरस (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) फैलिएको थियो । यसको विस्तार उत्तरी अमेरिका, दक्षिण अमेरिका र युरोपसम्म देखिएको थियो । त्यसयता यो संक्रमणबाट चीनमा ६ सय ४६ जनाको मृत्यु भएको थियो भने विश्वभरमा मर्नेको संख्या ८ सय १३ पुगेको थियो ।

चीनबाट आएका बिरामीबारे टेकु अस्पतालले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत निकायलाई समेत जानकारी दिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीका अनुसार चीनमा हालै देखिएको ‘नोबेल कोरोना भाइरस’ को परीक्षण प्रविधि नेपालमा उपलब्ध छैन ।

विश्व स्वास्थ्य संगठनले चीनभन्दा बाहिर पहिलोपटक थाइल्यान्डमा ‘नोबेल कोरोना भाइरस’ को केस देखिएको गत मंगलबार जनाएको थियो । थाइल्यान्डमा घुम्न गएकी अमेरिकाकी ६१ वर्षीया महिलालाई चिसो लाग्ने, घाँटीमा खस–खस, टाउको दुखाइ र ज्वरोलगायत लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

थाइल्यान्डको सुवर्णभूमि विमानस्थलमा थर्मल सर्भिलेन्सका माध्यमले त्यही दिन ज्वरोले पीडित ती महिलालाई पहिचान गरेरअस्पतालमा भर्ना गरिएको थियो । चिनियाँ अधिकारीहरूले विश्व स्वास्थ्य संगठनलाई गत शनिबार र आइतबार उपलब्ध गराएको जानकारीअनुसार त्यहाँको हुवई प्रान्तस्थित वुहानमा ४१ जना नोबेल कोरोना भाइरस संक्रमणले बिरामी भएको पहिचान गरिएको छ । तिनमा एक जनाको मृत्यु भएको छ भने ७ जनाको अवस्था गम्भीर छ ।

डब्लूएचओका अनुसार चिनियाँ अधिकारीहरूले नयाँ प्रकारको कोरोना भाइरसलाई गत पुस २२ गते मात्रै पहिचान गरेका हुन् । यो क्लस्टर (समूह) को सुरुवात ३१ डिसेम्बर सन् २०१९ मा भएको थियो, जतिखेर संगठनको चाइना कन्ट्री अफिसलाई सूचित गरिएको थियो ।

चीनले सबै सम्भावित केसको प्रयोगशाला परीक्षण गरेपछि इन्फ्लुएन्जा, एभियन इन्फ्लुएन्जा, एडेनो भाइरस, सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस (एसएआरएस–सीओभी) र मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस (एमईआरएस–सीओभी) जस्ता अन्य श्वासप्रश्वाससम्बन्धी रोग उत्पन्न गर्ने कारकको पहिचान गरेको थियो ।

यसअघि चिनियाँ सञ्चार माध्यममा जारी रिपोर्टअनुसार यो रोगका लागि कोरोना भाइरसलाई जिम्मेवार ठानिएको थियो । प्रारम्भिक महामारीसम्बन्धी खोजबिनअनुसार वुहानको समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो । हालसम्म जो बिरामी देखिएका छन, तीमध्ये अधिकांश समुद्री खाद्य बजारमा काम गर्नेहरू हुन् । सरकारी अधिकारीहरूका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्पष्ट प्रमाण छैन ।

सतर्कताका लागि हाल अस्थायी रूपमा वुहान ‘सी–फुड होलसेल मार्केट’ अस्थायी रूपमा बन्द गरिएको छ । विश्व स्वास्थ्य संगठनले ‘नोबेल कोराना भाइरस’ फैलिने स्रोत पत्ता लगाउनु चीनका लागि आवश्यक रहेको जनाएको छ ।-कान्तिपुर

कमेन्ट लोड गर्नुस