सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तमा स्वास्थ्य सेवाको पहुँच बढ्दै

२०७६ माघ १०, १२:५१ खबर संवाददाता

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा झरेको छ। बालबालिकालाई खोप लगाउने क्रम बढ्दो रुपमा रहेको छ। घर घर  पुगेर खोप लगाउने कार्य शुरुआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिईन्।

कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशत भन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उनको दावी छ। केन्द्रमा वडा नं ६ र ७ का बासिन्दाले आवश्यक स्वास्थ्य सेवा सहज रुपमा पाएका छन्। परिवार नियोजनका साधन मात्रै उपलब्ध हुने केन्द्रमा हाल  ३५ प्रकारका औषधि निःशुल्क रुपमा पाइने गरेको छ।

अहिले  केन्द्रमा दैनिक ४० भन्दा बढी स्थानीय बासिन्दा सेवालिन जाने गरेका छन्। स्थानीय दानी गिरीले घर नजिकै  स्वास्थ्य सेवा र औषधि उपलब्ध हुँदा सहज भएको बबताए।  यसैगरी शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि वडा नं १७ का बासिन्दाले सामान्य उपचारदेखि सुरक्षित मातृत्व सेवा पाउन थालेका छन।

केन्द्रले वडा नं १७ देखि वडा नं ५, ११ र १२ का बासिन्दालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ। केन्द्रअन्र्तगत चार वटा गाउँ घर क्लीनिक पनि सञ्चालन रहेको छ। केन्द्रका अनमी सारदा सिंहका अनुसार एक वर्षको अवधिमै चार हजार तीन सयले सामान्य उपचार सेवा पाएका छन।

ती मध्ये ९ सय ३२ ज्येष्ठ नागरिकले रहेका छन्।  सुरक्षित मातृत्व सेवा ८८  र परिवार नियोजन सेवा ९ सय ६६ ले लिएका छन। एक हजार ४२ बालबालिकाले पूर्ण खोप सेवा पाएका छन्। भीमदत्त नगरपालिका–१९ मा शहरी स्वास्थ्य केन्द्र भवन १६ लाख ५० हजारको लागतमा  निर्माण गरिएको छ।

भवन निर्माण भएपछि गर्भवती जाँच, खोप र औषधि वितरणको कार्य केन्द्रको भवनबाट हँुदै आएको छ। केन्द्रबाट वडा नं २, १५, १८ र १९ का दैनिक ७० बासिन्दा लाभान्वित हुँदै आएका छन्। नगरपालिकाका १९ वटै वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्वास्थ्य सेवको पहुँच पुगेको छ।

नगरपालिकाको वडा नं ९ मा शहरी स्वास्थ्य केन्द्र भवन  १० लाखको लागतमा निर्माण गरिएको छ। केन्द्रको अर्को भवन  २५ लाखको लागतमा चालू आवमा निर्माण हुने वडा अध्यक्ष राम नाथले जानकारी दिए। टुँडिखेलमा रहेको गाउँघर क्लीनिक भवन  १० लाख र खल्लामा रहेको गाउँ घर क्लीनिक भवन  १२ लाखमा निर्माण गरिएका छन।

स्वास्थ्य केन्द्र वडामा नहुँदा विगतमा स्थानीय बासिन्दा उपचारका लागि निकटवर्ती भारतीय बजार टनकपुर जानुपर्दथ्यो।  सो वडाको जनसङ्ख्या १० हजार रहेको छ। नगरपालिकाका सबै वडामा सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूतिका लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल १२ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन्। रासस 

कमेन्ट लोड गर्नुस