सुदूर नेपाललाई विश्वसँग जोड्दै

के हो मस्तिष्कघात, किन हुन्छ र के हुन लक्षण?

२०७६ माघ १९, ०८:४६ खबर संवाददाता

हाम्रो शरिरको सबैभन्दा संवेदनशील अंगमध्ये एक हो, मस्तिष्क। मस्तिष्कलाई हाम्रो मुटुले अक्सिजनसहितको रगत पठाइरहेको हुन्छ जसका कारण हामीले गर्ने सबै क्रियाकलाप नियन्त्रित हुन्छन्। जब मस्तिष्कमा रगत प्रवाहमा बाधा हुन्छ, त्यो अवस्थालाई मस्तिष्कघात भनिन्छ।

मस्तिष्कमा भएका रक्तनलीबाट रक्तस्राव भएको अवस्थालाई पनि मस्तिष्कघात भनिन्छ। मस्तिष्कका नसाहरु सुक्दा, फुट्दा, खुम्चिँदा वा तिनले राम्रोसँग काम नगर्दा मस्तिष्कमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न सक्दैन। यो अवस्थालाई नै मस्तिष्कघात भनिन्छ। टाउकोमा चोट लाग्दा, रगतसम्बन्धी औषधिको लापारवाही तथा उच्च रक्तचाप, मुटुको समस्या तथा कोलेस्ट्रोल, मधुमेहजस्ता समस्याका कारण पनि मस्तिष्कघात हुनसक्छ।

धूमपान तथा अत्यधिक मदिरा सेवन मस्तिष्कघातका कारक हुन् । हाम्रो शरिरको केन्द्रीय नियन्त्रण कक्ष भएकाले मस्तिष्कमा समस्या हुँदा ज्यानै जान सक्छ । समयमा उपचार पाएर ज्यान जोगाउन सकिए पनि शरिरमा अन्य समस्याहरु देखिने सम्भावना अत्यधिक हुन्छन्। विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार हरेक वर्ष डेढ करोडभन्दा धेरै मानिसहरु मस्तिष्कघातको शिकार हुने गरेका छन्।

तीमध्ये ५८ लाखभन्दा धेरैको मृत्यु हुन्छ। विश्वभर प्रत्येक ६ मानिसमध्ये एक जनालाई मस्तिष्कघात हुने गरेको पाइएको छ।
कस्ता मानिस हुन्छन मस्तिष्कघातको जोखिममा?
मस्तिष्कको रक्तनलीमा रक्तचाप उच्च भएमा रक्तनली फुट्ने भएकाले उच्च रक्तचाप भएका व्यक्तिहरुलाई मस्तिष्कघात हुने सम्भावना अत्यधिक हुन्छ। ५० बर्ष उमेर नाघेका व्यक्तिहरु, मधुमेह, उच्च रक्तचाप भएका बिरामीहरुले यी रोगका औषधीहरु प्रयोग नियमित रुपमा नगर्दा, तनाव, चिन्ता बढी लिँदा तथा मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरुमा मस्तिष्कघातको समस्या बढी देखिन्छ।
के हुन लक्षण?
– स्पष्ट बोल्न नसक्ने
– एउटा आँखा धमिलो देखिने वा दृष्टि कमजोर हुने
– अचानक सहनै नसक्ने गरी टाउको दुख्ने
– पसिना आउने, होस हराउने
– अत्यधिक बढी वान्ता हुने
के मस्तिष्कघातको उपचार सम्भव छ ?
थ्रोम्बोलाइटस्टक एजेन्टले थ्रोम्बलको समाधान गर्न सक्छन् र मस्तिष्कमा रक्त प्रवाहलाई पहिलेको अवस्थामा फर्काउन पनि सक्छ । यो उपचार पद्धतिबाट मस्तिष्कका कोषिकाहरुलाई खराब हुनबाट रोक्न वा मस्तिष्कघातपछि हुनसक्ने अक्षमतालाई कम गर्न सकिन्छ । मस्तिष्कघात हुने सम्भावना भएमा विभिन्न थेरापीको सहयोग लिन सकिन्छ। तीमध्ये एक्टिभ र प्यासिभ एक्सरसाइज, पिएनएफ एक्सरसाइज, मालिस, मनोपरामर्श, स्पिचथेरापीलगायतका विधिहरु धेरै प्रयोग गरिएका छन्। 
कसरी बच्न सकिन्छ त? 
– धूमपान, मदिरासेवनलगायत नशालु पदार्थको सेवन नगर्ने
– नियमित व्यायाम गर्ने
– शरीरको तौललाई सन्तुलनमा राख्ने
– तनाव, चिन्ता नलिने
– बढी मसलायुक्त खाना नखाने
 

कमेन्ट लोड गर्नुस