विहीबारदेखि बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदै
आगामी फागुन १ गतेबाट देशैभरी दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ। यसै क्रममा रुकुमपूर्वमा चार हजार ५७९ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ। तीन मात्र स्थानीय तह रहेको जिल्लाको सिस्ने गाउँपालिकामा एक हजार ४२०, भूमे गाउँपालिकामा एक हजार ५९७ र पुथा उत्तरगङ्गा गाउँपालिकामा एक हजार ५६२ पाँच वर्ष मुनिका बालबालिका छन्।
सो अभियानका लागि जिल्लामा १६ खोप कार्यकर्ता र २८८ स्वयंसेवक खटाइने बताइएको छ। खोप अभियान पहिलो चरणमा भुमेमा फागुन १ देखि ९ गतेसम्म सञ्चालन गरिने भएको छ। त्यसैगरी दोस्रो चरणमा फागुन १० गतेबाट १८ गतेसम्म पुथा उत्तरगङ्गा र तेस्रो चरणमा फागुन २० देखि २८ गतेसम्म सिस्नेमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुकुमकोटले जनाएको छ। फागुन १ गतेबाट शुरु हुन गइरहेको खोप अभियानको सम्पूर्ण तयारी सकिएको स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख शिव शार्कीले बताए।
उनका अनुसार सबै स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिसकिएको छ। त्यसैगरी स्वास्थ्य शाखा प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, खोप दिने स्वास्थ्यकर्मी, स्वयंसेवक सबैलाई प्रशिक्षण दिइएको छ।