सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रहरी कार्यालय र नगरपालिकामा तोडफोड

२०७६ फाल्गुन ८, ०३:५८ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित स्थानीयले कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा बिहीवार स्थानीयले तोडफोड गरेका छन्।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी महाकाली नगरपालिका–६ की सुशीला थापालाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा छोडेको भन्दै स्थानीयहरुले प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेका हुन। 

उनीहरुले नगरपालिकाको कुर्सी, झ्यालका सिसा र सोलार प्यानल तोडफोड गरेको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए। त्यस्तै स्थानीयहरुले गरेको ढुंगामुढाबाट ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनी कार्यालयको साइन बोर्डमा क्षति पुगेको बताए। छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट धरौटीमा छुटेकी थिइन्। 

गत माघ १९ गते २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएको अवस्थामा भेटिएका थिए। सुशीलाले बारम्बार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको भन्दै मृतकका मामाले ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा आत्महत्या दुरुत्साहनको मुद्दा दिएका थिए।

कमेन्ट लोड गर्नुस