भीम रावलले धनगढी विमानस्थलको भीआईपी कक्ष किन प्रयोग गर्न पाएनन् ?
नेकपा स्थायी कमिटि सदस्य एवंम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले धनगढी विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाएको विषयले यतिबेला चर्चा पाएको छ। पूर्व उपप्रधानमन्त्री समेत रहेका रावल श्री एयरलाईन्सको उडानबाट शनिबार बिहान ८ बजेर १८ मिनेटमा काठमाडौँबाट उडेका थिए।
उनी ९ बजेर ८ मिनेटमा धनगढी विमानस्थलमा ओर्लिएका थिए। सोही विमानमा फागुन १४ गतेदेखि सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँ फर्किने कार्यक्रम तय भएको थियो। राष्ट्रपतिको सुरक्षा प्रबन्ध नेपाली सेनाले नै मिलाउँदै आएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी भने सुरक्षाको बाहिरी घेरामा हुन्छन्।
सोही अनुसार सेनाले ९ बजे भन्दा अगाडी नै धनगढी विमानस्थलको भीआईपी कक्ष सिल गरिसकेको थियो। राष्ट्र प्रमुखको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै भीआईपी कक्ष सिल गरिएको थियो भने राष्ट्रपति भण्डारीको विदाई र रावलको स्वागतका लागि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा सहितका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए।
रावल अवतरण गर्ने बेला सम्म राष्ट्रपति भण्डारी विमानस्थल पुगिनसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा बताउँछन्। ‘राष्ट्रपति ज्यूको सुरक्षाको जिम्मा सेनाको हुन्छ।’ प्रजिअ बोहराले भने, ‘सेनाले भीआईपी कक्ष सिल गरिसकेको रहेछ, राष्ट्रपति ज्यू विमानस्थल जादै हुनुहुन्थ्यो।’
विमानस्थलमा प्रदेश अध्यक्ष थापा सहितका नेता कार्यकर्ताले स्वागत गरिसकेपछि रावललाई राष्ट्रपति फर्किरहेको कुरा थाहा भईसकेको थियो। अध्यक्ष थापा भन्छन्,‘रावल कमरेडलाई मैले नै राष्ट्रपति ज्यू काठमाडौँ फर्किरहेको कुरा जानकारी गराएको हुँ, सेनाले सेक्युरेटी सिल गरेको कुरा पनि अवगत गराएको थिए।’ थापा बताउँछन्।
‘मलाई त उहाँले राष्ट्रपति ज्यूको विदाई गनुहुन्छ भन्ने लागेको थियो। तर निस्कीहाल्नुभएछ।’ उनले समान्य कुरालाई अतिरञ्जित गर्न खोजेको आपत्ती समेत जनाएका छन्। ‘रावल कमरेड पार्टीको सुदूरपश्चिम इन्चार्ज पनि हुनुहुन्छ, राष्ट्रपति जस्तो सम्मानीत व्यक्तित्व, राष्ट्र प्रमुख आफ्नो प्रदेशको भ्रमण गरेर फर्किरहेका बेला विदाई गरेर पनि भीआईपी कक्षमा प्रवेश गर्नसक्नुहुन्थ्यो नी।’
तर भीम रावल भने विमानस्थलमा नरोकेर सोझै धनगढी आएका थिए। उनले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो अपमान भएको भन्दै मिडियाबाजी गरेपछि यो विषय बाहिरिएको थियो।
जिल्लाका सुरक्षा निकाय बिच समन्वयको अभाव
धनगढी विमानस्थलमा एउटा मात्र भीआईपी कक्ष छ। राष्ट्रपति भने अति विशिष्ट अथवा भीभीआईपी हुन्। यहाँ आएका बेला राष्ट्रपतिले पनि सोही कक्ष प्रयोग गर्दै आएका छन्। मर्यादा क्रम अनुसार पनि राष्ट्रपति पहिलो नम्बरमा आउँछन्। राष्ट्रपति व्यक्ति नभएर संस्था हो। मर्यादा क्रमकै कुरा गर्ने हो भने पनि पूर्वउप्रधानमन्त्रीको मर्यादाक्रम प्रदेश सरकारका मुख्यमन्त्री भन्दा पनि तल छ।
मुख्यमन्त्री सातौँ नम्बरमा पर्दा पूर्वउपप्रधानमन्त्री आठौँ नम्बरमा पर्छन्। भीम रावल पूर्वउपप्रधानमन्त्री पनि हुन्। तर उनले शनिबार धनगढी विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाएको विषयमा सुरक्षा निकायबिच समन्वयको अभाव भएको देखिन्छ। किनकी रावल धनगढी आईरहेको कुरा राष्ट्रपतिको सुरक्षामा खटिएको नेपाली सेनाले भीआईपी कक्ष सिल गरिसकेपछि जानकारी पाएको पाईयो।
‘राष्ट्रपति ज्यूको सुरक्षार्थ खटिएको सेनाको टोली काठमाडौँबाटै आएको थियो।’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दिनेश खबरलाई भने। ‘ माननीय भीम रावल पनि काठमाडौँबाट आईरहेको कुरा विमास्थलमा सुरक्षार्थ खटिएका प्रहरी नायब निरिक्षकले सेनालाई जानकारी गराएका रहेछन् तर भीभीआईपी नआईकन अरुलाई प्रवेश गर्न नपाईदो रहेछ।’
प्रमुख जिल्ला अधिकारीका अनुसार राष्ट्रपतिको सुरक्षार्थ ‘अति विशिष्ट व्यक्तिको विशेष सुरक्षा’ टोली काठमाडौँबाट नै आएको थियो। नेपाली सेना निकट स्रोतका अनुसार पूर्वउपप्रधानमन्त्री रावल धनगढी आउँने बारे पूर्व जानकारी थिएन्। त्यो विषयको जानकारी भए भीआईपी कक्षमा प्रयोग गर्न नमिलेपनि अन्य व्यवस्थापन गर्न सकिने कुरा स्रोतले जनाएको छ।
सेनालाई भीम रावल आईरहेको जानकारी नभएपनि रावल भने राष्ट्रपति काठमाडौँ फर्किरहेको विषयमा जानकार नै भएको दावी गरिन्छ। त्यो कुरा थाहा हुँदाहुँदै पनि उनी विमानस्थलमा नरोकेर सोझै धनगढी आएर यो विषयमा विवादित बनाउन लागेको आरोप लागेको छ।