कञ्चनपुरमा स्थानीयको लालपूर्जा भएको जग्गा भारततर्फ, सीमा सर्भेको काम रोकियो
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० का स्थानीय बलीराम चौधरीले २०२३ सालदेखि भोगचलन गर्दै आएको झण्डै सवा दुई बिघा जग्गा भारतीय भूमीमा परेको छ। दुवै देशका विज्ञ सम्मीलीत संयुक्त सीमा सर्भे टोलीले पिल्लर गाड्न जमिनमा खाडल खनेपछि लालपूर्जा नै भएको जमिन भारततर्फ परेको कुरा चौधरीले थाहा पाएका हुन्। भारतीय नक्सामा चौधरीको जग्गा देखाएर पिल्लर बनाउन थालेपछि चौधरीलाई वषौँदेखि भोगचलन गर्दै आएको जमिन गुम्ने चिन्ताले पिरोलेको छ।
उनको मात्र दुई बिघा १४ कठ्ठा जग्गा भारत तर्फ परेपछि चैधरी उक्त जग्गा आफूले भोगचलन गर्न पाउनुपर्ने र साविक सीमा साविक कायम रहेकै स्थानमा यथावत राख्नुपर्ने माग गरेका छन्। नेपाल सरकारले लालपूर्जा के को लागि दिएको भन्दै चौधरीले प्रश्न गरे। ‘सरकारले हामीलाई फोहोर फाल्न दिएको हो की ? मेरो जग्गा हो भनेर दिएको को की ? भारतलाई दिनका लागि दिएको हो। त्यो कुरा बताईदिनुप¥र्यो।’ चौधरीले भने।
बेलौरी १० का स्थानीय चौधरीको मात्र हैन्, नगरपालिकाका अन्य वडा, पुर्नवास नगरपालिका र बेल्डाँडी गाउँपालिकाका अन्य वडामा पनि यस्तै अवस्था देखिएको छ। स्थानीयले वषौँदेखि भोगचलन गर्दै आएको लालपुर्जा भएको जमिन अहिले भारतीय भूमीमा परेको छ। संयुक्त सीमा सर्भे टोलीले नेपाली भूमीलाई भारततीर देखाएपछि स्थानीयमा आफ्नो जग्गा गुम्ने चिन्ता उत्पन्न भएको छ भने उनीहरु नक्सा सच्याउनुपर्ने माग गरिरहेका छन्।
बेलौरी नगरपालिका १० का वडा अध्यक्ष हरीलाल चौधरीले २०२३ सालमा नापी भएका जग्गाहरु भारततर्फ परेको बताए। उनले बेलौरी, पुर्नवास र बेल्डाडी गाउँपालिका क्षेत्रको झण्डै एक सय किलोमिटर सम्म नेपाली भूमी भारततर्फ परेको सुनाए। संयुक्त सीमा सर्भे टोलीसँग कुरा गर्दा नेपाल–भारतको १९५० को सन्धीअनुसार जारी भएको नक्साका आधारमा सीमा छुट्याउन आएको जवाफ दिएको चौधरीले बताए।
नेपालतर्फको जमिनमा सीमा पिल्लर गाड्नका लागि खाल्डो खनेको देखेपछि आईतबार स्थानीयले विरोध जनाएका थिए। उक्त विरोधपछि दुवै देशका अधिकारी सम्मीलीत संयुक्त सीमा सर्भे टोलीले तत्कालका लागि काम स्थगीत गरेको छ। संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट प्रमुख समेत रहेका नापी कार्यालय कैलालीका प्रमुख सुर्दशनसिंह धामीले विवादपछि तत्कालका लागि काम स्थगीत गरिएको बताए।
उनले सीमा सर्भेका क्रममा नेपाली भूमी भारतर्फ परेको देखिएपछि स्थानीय आक्रोशित बनेको जनाए। तर अहिले जारी भएको नयाँ नक्सा अनुसार नेपाली भूमी भारतर्फ परेको मात्र नभएर भारतीय भूमी समेत नेपालतर्फ परेको देखिएको उनी बताउँछन्। कञ्चनपुरकै झिलमीलाको ७८७–२ नम्बर पिल्लरमा भारतको झण्डै दुई सय १० बिघा जग्गा नेपाली भूमीमा परेको बताईएको छ।
यद्यपी अहिले उत्पन्न विवादको समाधान निक्र्यौल माथिल्लो निकायबाट गर्न सकिने धामीले बताए। उक्त विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय जारी राखिएको धामीले जानकारी दिए। सीमा सर्भेका क्रममा विवाद देखिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा पनि आईतबार बेलौरी पुगेका थिए।
तर प्राविधिक रुपमा नक्सामा कुनै समस्या नरहेको पाईएको दावी गर्दै प्रजिअ खतिवडाले स्थानीयको बिचमा बुझाई र समझदारी केही कमी देखिएकाले समस्याको समाधान गरिने बताए। नेपाली भूमी भारतर्फ नियतबस देखाईएको नभएका कारण नयाँ प्रविधीको प्रयोग गरी गरिएको नक्सानले त्यसो भएको प्रजिअ खतिवडाले जानकारी दिए।
उनले नेपाली भूमी मात्र नभएर धेरै ठाउँमा भारतीय भूमी पनि नेपालतर्फ परेको बताए। कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधानका लागि गत माघदेखि संयुक्त सीमा सर्भे टोली खटिएको थियो। यसअघि आर्थिक वर्ष २०७४/७५ र ०७५/७६ मा पनि संयुक्त सीमा सर्भे टोली सीमा क्षेत्रमा खटिएको थियो। तर दुवै जिल्लामा रहेका सीमा विवाद अझै कायमै छन्।