धनगढीको हुलाकी रोड–डी गाउँ सडकको कालोपत्रे र नाली भत्किदै
नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइले धनगढीमा निर्माण गरेका प्रायजसो सबै सडकमा मापदण्ड मिचिएको पाईएको छ। धनगढीको हुलाकी रोड–कमैया बस्ती–डी गाउँ सडकमा पनि मापदण्ड अनुसार काम नभएपछि कालोपत्रे भत्कीन थालेको छ।
नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमको २ नम्बर प्याकेजमा २०७३ सालको फागुनमा ठेक्का आह्वानपछि २०७४ साल असार ९ गते धनगढीको केएस जेभीसँग ठेक्का सम्झौता भई निर्माण भएको हुलाकी रोड कमैया बस्ती डी गाउँ सडक भत्कीन थालेको हो। नेपाल सरकारकै शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइसँग भएको ठेक्का सम्झौता अनुसार सो प्याकेजमा पर्ने तीन वटा सडक २९ करोड ९३ लाखमा केएस जेभीले २०७६ असारमा सम्पन्न गरी हस्तान्तरण गरेको थियो।
तर सडकमा मापदण्ड अनुसार कालोपत्रे नगरेपछि एक वर्ष नबित्दै नाली र कालोपत्रे भत्कीन थालेको छ। पूर्व वडा अध्यक्ष समेत रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को सी गाउँका स्थानीय लक्ष्मीचन्द्र चौलागाईले कमसल काम भएपछि नाली र कालोपत्रे भत्कीन थालेको बताए। निर्माणका क्रममा मापदण्ड अनुसार काम गर्न आग्रह गर्दा पनि अटेरी गरियो।
निर्माण व्यवसायीका तर्फबाट फिल्डमा खटिएका इन्जिनीयर आफूहरुसँग झगडा गर्न आएको गुनासो गरे। उनले निर्माणका क्रममा खबरदारी गर्दा गर्दै पनि आँखा छलेर कमसल काम गरेको आरोप लगाए। शहरी विकास तथा भवन निर्माण विभागको स्वीकृत डिजाईन स्टमेटका आधारमा हुलाकी रोड–कमैया शिविर–डी गाउँ सडकमा ७ मिटर लम्बाईको कालोपत्रे मापदण्ड अनुसार नै गरिएको छ तर कालोपत्रेको थिक प्रिमिक्स कारपेटमा भने बदमासी भएको छ।
मापदण्ड अनुसार २० मिलीमिटरको प्रिमिक्स कारपेट अथात् कालोपत्रेको माथिल्लो तह हुनुपर्नेमा १० देखि १५ मिटिमिटर मात्रै हालिएको छ। अन्य सडकमा जस्तै हुलाकी रोड कमैया डी गाउँ सडकमा रहेका रुख र पोल समेत हटाईएको छैन्। पोलहरु नहटाईएपछि दुर्घटनाको जोखिम बढाएको स्थानीय देवीलाल चौलागाईले बताए।
सो सडकको हुलाकी रोडदेखि सी गाउँ सम्मको झण्डै साढे ३ किलोमिटर क्षेत्रमा १० वटा विद्युतका पोल नालीको छेउ, बिचमा र सडकमा परेका छन् भने झण्डै आधा दर्जन रुख पनि नहटाएको पाईएको छ। नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमको दुई नम्बर प्याकेजकै भन्सार चटकपुर फाप्ला राजपुर सडकमा पनि मापदण्ड अनुसार काम नगरेको पाईएको थियो।
सो सडक पनि केएस जेभीले नै निर्माण गरेको थियो। निर्माण सम्पन्न भएको आठ महिनामै सडकको ठाउँ ठाउँमा भत्कीन थालेपछि मापदण्ड मिचेर काम गरी आर्थिक अनियमितता गरिएको आशंका स्थानीयको छ। तर निर्माण व्यवसायी केएस जेभीका सञ्चालक सुरेन्द्र पालले भने मापदण्ढ अनुसार नै काम गरिएको दावी गरे।
उनले फिल्डको अवस्था हेरेर मात्र प्रतिक्रिया दिने जनाए। सडकमा मापदण्ड मिचेर कमसल काम भएको विषयमा शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइका इन्जिनीयर श्यामचन्द्र बुढाथोकीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्। तर शहरी विकास तथा भवन निर्माण विभागले नै निर्माण व्यवसायी संगको मिलेमतोमा सघन शहरी विकास अन्तरगतका सडकमा कमसल काम गरी आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ।