कैलालीमा ग्यास उद्योग स्थापना, चैतदेखि सञ्चालनमा आउने
कैलालीको गेटामा झण्डै १८ करोडको लागतमा स्थापना गरिएको सैपाल ग्यास उद्योगले आउँदो चैतदेखि उत्पादन बजारमा ल्याउने भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ बिजौरामा गेटा आँखा अस्पताल पछाडी स्थापना भएको सैपाल ग्यास प्रालीले चैतदेखि ग्यास बजारमा ल्याउने जनाएको हो।
दुई वर्ष अघि नै उत्पादन गरी ग्यास बजारमा आपूर्ती गर्ने तयारी गरिएको भएपनि विभिन्न प्राविधिक तथा कानूनी जटिलताका कारण ढिलाई भएपनि चैतदेखि भने बजारमा ल्याउने सैपाल ग्यास प्रालीका प्रबन्ध निर्देशक सिद्धराज ओझाले जानकारी दिए। नेपाल आयल निगमबाट निर्माणको अनुमती प्राप्त गरेपनि उत्पादन गरी बजारमा आपूर्ती गर्ने पिडियो नपाउँदा ढिलाई भएको ओझा बताउँछन्।
तर कुनै समस्या नदेखिए बैशाख १ मा उद्घाटन गर्ने तयारी रहेको छ। ओझा सहितका पाँचजना व्यवसायीहरुको लगानी रहेको सैपाल ग्यास प्रालीले अत्याधुनिक प्रविधी जडान, नेपाल आयल निगमबाट ग्यास अनुमती नपाउँदा अहिले सम्म बजारमा सप्लाई गर्न सकिएको थिएन। तर अहिले भने आयल निगमबाट समेत अनुमती पाईसकेकाले छिट्टै उत्पादन सुरु गरिने भएको हो।
एक सय मेट्रीक टनका दुईवटा ट्याङकीबाट अत्याधुनिक प्रविधीको प्रयोग गरी १४ हजार सिलिन्डरमा एकैपटक ग्यास भर्न सकिनेछ। ती ग्यास सिलिण्डर सुदूरपश्चिम सहित कर्णाली प्रदेश, ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा बिक्रि वितरण गरिनेछ भने मागको आधारमा अन्य प्रदेशमा पनि पठाईने प्रबन्ध निर्देशक ओझाले बताए।
सैपाल ग्यास कम्पनीले अभावका बेला पनि १० दिनको बजारलाई धान्न सक्ने गरी मौज्दात सिलिण्डर समेत राख्नेछ। कैलालीकै मालाखेतीमा संचालनमा रहेको रेडियन्ट ग्यासले सुदूरपश्चिमको बजारको माग धान्न नसकेपछि नेपालगञ्जबाट पनि आईरहेको बेला सञ्चालन हुने सैपाल ग्यास उद्योगले बाहिरबाट ग्यास आयात गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ।
ग्यास उद्योगले प्रदेशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। प्रबन्ध निर्देशक ओझाले अत्याधुनिक प्रविधीको प्रयोग गरिएकाले धेरै रोजगारीका अवसर नभएपनि झण्डै ६० जना स्थानीयले भने प्रत्यक्ष रोजगारी पाउने जनाए।
सैपाल ग्यास सिलिण्डरको मूल्य नेपाल आयल निगमकै मापदण्ड अनुसार निर्धारण हुने बताईएको छ। अहिले सैपाल ग्यास उद्योगले झण्डै २४ करोडको लागतमा एक लाख सिलिण्डर खरिद गरिएको छ। दुई बिगाह ५ कट्ठा क्षेत्रफलमा स्थापना गरिएको ग्यास उद्योगमा सुरक्षालाई मध्यनजर गर्दै सोही अनुसारका संरचना बनाईएको छ।