सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्थापना गरिएको प्रयोगशालाबाट कोरोना परीक्षण सुरु

२०७६ चैत्र २०, ०६:३९ खबर संवाददाता

धनगढी : संघिय सरकारले धनगढीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट आजैदेखि नमुना परीक्षण सुरु भएको छ।  बुधबार साँझ प्रयोगशालाका उपकरण जडान गरेको विज्ञ टोलीले बाँकी रहेका काम सकेर आजदेखि नै नमुना परीक्षण कार्य सुरु गरेको हो। 

स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखक सहितको टोलीले सेती अस्पतालमा स्थापना गरेको प्रयोगशालामा कोरोनाका शंकास्पद व्यक्तिहरुको थ्रोट स्बावको नमुना परीक्षण गर्न थालिएको प्रादेशिक अस्पतालले जनाएको ।छ 

संघिय सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना परिक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलीकोप्टर मार्फत मंगलबार धनगढी ल्याईएको थियो। बुधबार बिहानैदेखि स्वास्थ्य मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उपकरण जडानको काम गरेकोमा काम सम्पन्न भइ परीक्षण सुरु भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।  

यसअघि सुदूरपश्चिमबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाइदै आएको थियो। जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो। अब जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताइएको छ।  

कमेन्ट लोड गर्नुस