विषम काल (कविता)
-भान सिंह धामी
मान्छे हो ! यस कालको विषममा,हूँदैन है जिस्कन
यो बेला घरबाहिरै सडकमा, हूँदैन है निस्कन
सानो कारणले भनौँ कि अथवा,गल्ती गरे संकट
आयो जोखिम त्यो भने क-कसको, पाइन्छ मिलावट ।
सारा संकटमा फसेर दुनियाँ, एकान्ततामा गयो
त्यो कोलाहलबाट दूर अहिले, एकाग्रतामा गयो
कोरोना कणले सबै सहरमा, हारेर फर्किन्छ है
एक्लै बास बसेर मात्र यसको, आधार चर्किन्छ है ।
हाम्रो जीवनको कहाँ र कसरी, खुम्चिन्छ फैलावट
कोठामै बस हो ! रमौँ घरघरै, साटौँ सबै संकट
मानौँ यौवनको अभाव छ भने, चल्दैन है जीवन
यो सामर्थ्य रहे अझै बढिरहे, गल्दैन है जीवन।
बोली स्वागत हो गरौँ न घरको, ढोका नखोलीकन
आफ्नैबाट सिकौँ अझै पनि सबै, झुटो नबोलीकन
लाएको छ कहाँ भन्यो जगतले,माया नरित्तीकन
फर्केला जब ऊ,म आए भनुला, त्यो युद्ध जितीकन।
कोही गीत रचौँ मिठास सुरमा, को को छ हो गाउने
मान्छे हुन्छ अवश्य सभ्य घरमा, सम्वादमा आउने
कोही लेख पढौँ कथा पनि पढौँ,छोडौँ सबै बन्धन
आफैँमा सबथोक खोज्न सबले, थालौ नयाँ चिन्तन।
फर्किन्छन् परदेशका जब सबै, सम्झेर आफ्नो घर
बस्नै पर्दछ हेर है नियमले, एकान्तको निर्भर
लेखिन्छन् सपना तिमी सङसङै, रोएर लेखेपछि
देखिन्छन् विपना तिमी सङसङै, छोएर देखेपछि।
खोलौँला सबले सधैँ अभयमा, आनन्दले आँगन
त्यो पानी पिउँला बगे नसकिने, खोला छ त्यो कञ्चन
हामी घुम्न नि ! जाउँला रहरले, मेची र कालीतिर
ओरालो नझरे चढौँ न भनुँला, यात्रा उकालीतिर।