प्रदेश ५ मा ७८ वर्षीय पुरुषमा र्यापिड टेष्ट पोजेटिभ
प्रदेश ५ मा पहिलो पटक ७८ वर्षीय बृद्धमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो। दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ। उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीले जनाएको छ। आज दिउँसोसम्म रिपोर्ट आउने बताइएको छ।
उनी एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका थिए। छातिमा समस्या आएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका थिए। उनीसँगै उनका परिवारका सबै सदस्यहरुको र्यापिड टेष्ट गर्दा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि पश्चिम नवलपरासीमा एक सय ३१ जनार्को र्यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ।