ए दुष्ट कोरोना, नेपालमा तँलाई बास दिन्नँ
– भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’
ए दुष्ट काल कोरोना लाज छैन नकच्चरा !
ए पापी भ्रष्ट कोरोना तेरो उखेल्दछौँ जरा !
मेरो नेपालमा बास तँलाई दिन्नँ दिन्नँ म
जाइ लाग्ने भए तेरो स्वाहा हुने छ भन्छु म !
।।१।।
आएछस् तँ पिछा पर्दै फर्केर गइजा पर
मेरो नेपालमा तैँले नचला तुच्छ जाँगर ।
थुक्क धिक्कार कोरोना रोकिन्छस् कसरी यहाँ ?
तेरो भलो हुँदै हुन्न आराध्यदेव छन् जहाँ
।।२।।
हो यो ईश्वरको नाम जप्ने देश तँ बुझ्दछस् ?
यदि नास्तिक भै आइस् भने दुर्भाग्य भोग्दछस् ।
जा ! जा !! जा !!! भागिजा नत्र तेरो उत्पत्ति व्यर्थ भो
तेरो अस्तित्व नै छैन म नेपाली तँ भन् तँ को ?
।।३।।
कसैले बहकायो या आइस् के कामले किन ?
यो देश कसरी देखिस् तेरो मालिक हो कुन ?
तेरो प्राण फुकालिन्छ साँचो दे झट्ट उत्तर
आजै जरो उखेलिन्छ हेर्लास् नास छ निश्चय
।।४।।
जहाँ जप्छन् महामन्त्र पाठ गर्छन् मृत्युञ्जय
जहाँ विश्वास फक्रिन्छ हुन्छन् आस्था प्रभामय ।
यो हो महर्षिको देश भो–भो लुकेर जा छिटै
नपचा लाज कोरोना तेरो इज्जत छैन क्यै
।।५।।
लाखौँको ज्यान खाइस् रे के अझै तँ अघाइनस्
तेरो शासन बिर्ता हो ? अझै फेला परेनछस् ।
खाइस् रे पसिना रक्त असङ्ख्य होनहारको
श्राप लागोस् दुःखी रोगी निमुखा अनुहारको
।।६।।
पुर्खा वंशजमा तेरा रहेछन् प्रेत राक्षस
कसैले हेर्न चाहन्नन् त्यो काँडे कोप्चिलो मुख ।
लागोस् संसारकै श्राप अग्निका रापमा परेस्
सारा दुर्गन्ध तैँ भोगेस् किरा परेर तैँ मरेस्
।।७।।