सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनको डेढ महिनामा कैलालीको पोल्टी व्यवसायमा झण्डै डेढ अर्ब क्षती

२०७७ वैशाख २४, १२:०४ जनक विष्ट

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा मात्र झण्डै ६ अर्ब लगानी रहेको पोल्टी व्यवसायमा कोरोना भाईरसपछि जारी लकडाउनले करिब डेढ अर्ब क्षती पुगाएको दावी गरिएको छ।

कैलालीमा साना तथा ठुला गरी दुई हजार दुई सय बढि व्यवसायी पोल्टी व्यवसायमा आवद्ध भएपनि लकडाउनका कारण व्यवसाय ठप्प भएपछि करिब डेढ अर्ब क्षती व्यहोर्न परेको कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेले बताए। बितेको ४२ दिनमा कुनै खालका व्यवसायीक गतिविधी सञ्चालन गर्न नपाउँदा पोल्टी व्यवसायमा ठुलो क्षती पुगेको उनले बताए। ‘लकडाउनका कारण कुखुरा व्यवसायीहरुले ठुलो घाटा व्यर्होनुपर्यो।’ पण्डेले भने, ‘लगानी केही बढि भएको फार्महरु बाहेक स–साना व्यवसायीसँग पूर्वाधार बाहेक अरु केही पनि बाँकी रहेन अब। जिल्लामा लगभग–लगभग एकदेखि डेढ अर्ब क्षती भएको छ।’

पोल्टी व्यवसायमा सुदूरपश्चिम करिब आत्म निर्भर बन्न लागेका बेला लकडाउनका कारण व्यवसायीहरुले क्षती व्यहोर्नु परेपछि अगामी दिनमा कसरी लयमा ल्याउने भन्ने चुनौती समेत देखा परेको छ। पोल्टी व्यवसायले स्वरोजगार मात्र नभई स्थानीय स्तरमा रोजगारीका अवसर समेत सिर्जना गरेको छ। कैलालीमा मात्र स्वरोजगार सहित गरेर झण्डै ३५ देखि ३६ हजार जना पोल्टी व्यवसायमा निर्भर रहेको कुखुरा तथा अण्डा उत्पादक किसान संघले जनाएको छ। पोल्टी व्यवसायीहरुले लकडाउनका कारण व्यहोर्नु परेको क्षतीलाई व्यवस्थापन गर्न सरकार गम्भीर बन्नुपर्ने माग उठ्न थालेका छन्। कुखुरा तथा अण्डा उत्पादक किसान संघका अध्यक्ष पाण्डेले अहिलेको अवस्थामा र लकडाउन खुलेपछि सरकारले चल्ला ढुवानीको सहज वातावरण बनाईदिनुपर्ने आवश्यकता रहेको बताए।

जिल्लामा लकडाउनका कारण भएका चल्ला समेत नष्ट गरिएपछि थप उत्पादनको सम्भावना नभएकाले त्यसका लागि पहिलो प्राथमिकता ढुवानीको सहज वातावरण बनाईदिनुपर्ने नै भएको उनी बताउँछन्। ‘साना किसानहरुले फेरी लगानी गरेर उठ्न सक्ने अवस्था छैन्। सरकारले चल्लामा अनुदान दिने हुनसक्छ। बैँक क्रणका आधारमा सहुलियत गर्ने, जस्तो ५ लाख भएकोलाई एउटा, २५ लाख सम्मकोलाई एउटा, ५० देखि एक करोड सम्मको लगानीकर्तालाई छुट्टै खालका सहुलियत दिने की ? कृषि कर्जा दिएर हुन्छ की।’ अध्यक्ष पाण्डेले भने, ‘कुखुरा तथा अण्डाजन्य वस्तुमा बृद्धि गरिएको भन्सार शुल्क घटाउनतर्फ पनि सरकारले ध्यान दिनुपर्ने हाम्रो माग छ।’

यता सुदूरपश्चिम प्रदेश सरकारले समेत कोरोना भाईरसका कारण पोल्टी व्यवसायीमा भएको क्षतीका विषयमा गम्भीर रहेको जनाएको छ। सरकारले आउँदो वर्षको बजेटमा व्यवसायीहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल एवंम योजना बनिरहेकाले संयम हुन पनि आग्रह गरेको छ। सुदूरपश्चिमको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कुखुरा व्यवसायीहरुसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा छलफलमै रहेको बताए। ‘मुख्यमन्त्री कार्यालय, अर्थमन्त्रालय लगायतका अन्य निकायसँग पनि छलफल चलिरहेकै छ।’उनले भने, ‘उहाँहरुलाई केही न केही सहुलियत दिने कुरा भईरहेको छ। जस्तो की व्याजमा अनुदान हुनसक्छ की, राहतका कार्यक्रम हुनसक्छन् की। खासगरी व्याज अनुदानका कुरामा बढि जोड रहेको हाम्रो।’

सरकारले पोल्टीमा आत्मनिर्भर बनिसकेको सुदूरपश्चिममा थप लगानी बृद्धि गरी वेरोजगार बनेकाहरुलाई स्वरोजगार एवंम् स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्दै व्यवस्थापन गर्न सक्ने विकल्प समेत रहेका छन्।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस