कालापानी, लिपुलेक र लिम्पियाधुरा
भान सिंह धामी
यो नियति हो मेरो देशको
केन्द्रले प्रेम सिंहबाट सुनेको कालापानी
कहाँ पर्छ भनेर
लिपुलेक कस्तो लेक हो भनेर
लिम्पियाधुरा कहाँ छ त्यो टाकुरा भनेर।
यो नियति हो मेरो देशको
कहिले काङ्ग्रेस कराउँदै सदन ठटाउने
कहिले कम्युनिस्टहरु कराउँदै सडक तताउने
केहि दिनपछि
सारा सुनसान हुने
जनतापनि हराउने
मानौँ केहि भएकै होईन।
यो नियति हो मेरो देशको
कालापानी कहरमा हुँदापनि
देश चुकेकै हो
लिपुलेक लर्खराउँदापनि
सबैको घाँटी सुकेकै हो
चुनावी चस्माले नेताको दृष्टिबाट
देशले चुक्नु परेको छ
जनताले पनि जैथक र नालापानी सम्झेर
लुक्नु परेको छ।
यो नियति हो मेरो देशको
कुनै दिन सडकमा हुँदा
मपनि सङ्गै थिए नारा ठोक्न
आज सम्झिन्छु
सकिदैन रहेछ
नाराले मात्र देश बोक्न
पाखुराले मात्रपनि हुँदैन
चाहिदो रहेछ अटल लिपुलेकजस्तै र
लिम्पियाधुराजस्तै टाकुरा
नेता र जनताको मनभित्र।
यो नियति हो मेरो देशको
कुटनीतिमा पनि कुटिएजस्तो
सरहद मात्र कहाँ हो र
केन्द्रपनि लुटिएजस्तो
इमान ढलेको
जमान जलेको
चारैतिरबाट घाइतेलाई फुँ गर्दापनि
उड्लाझैँ हरेक बार।
यो नियति हो मेरो देशको
तीनवटा सरकारले बेरिएको देशले
तीनवटा ठाँउ कालापानी, लिपुलेक र लिम्पियाधुरा
घेर्न नसक्नु कायर कुटनीतिको पराकाष्ठा।
बलियो सरकार दिएको जनताले
मिचिएको भुभाग मिचाउन हैन्
थिचिएको भुभाग थिचाउन हैन्
कुटिएको भुभाग कुटाउन र लुटिएको भुभाग लुटाउन हैन्
आफ्नो मिचेको सीमा खिचेर राख्न हो
घेरेर र बेरेर राख्न हो
टुलुटुलु हेरेर राख्न हैन्।
यो नियति हो मेरो देशको
चेतनाले चनाखो नभएपछि
चेतावनी सहनुको बिकल्प हुँदैन्
यहीँ भएको छ मेरो देशमा।
कडा कुटनीतिक प्रयासबाट
खिचियोस् मेरो देश
जहाँ पू्र्खाका पदचापले छोएको छ
त्यो मेरो देश रोएको छ
सरकार सचेत होस् मेरो देशप्रति
जहाँ भिमसेन, बलभद्र र अमर सिंह
फेरि एकबार होमिनेछन् भबिष्यको युद्धमा
खुकुरी भिरेर।
त्यो दिन देशले नपर्खियोस्।