सुदूर नेपाललाई विश्वसँग जोड्दै

चक्र बमका गीतमा प्रयोगशीलता

२०७७ साउन ११, ०३:०६

-खेम बतास 

गीत पूर्व र पश्चिम दुवैतिर प्राचीनकाल देखि धेरै लोकप्रिय छ। प्रमुखतः कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चार ओटा विधा छन्। गीत कविता विधाभित्रको उपविधा हो तथापी यसको आफ्नै मौलिक संरचना र स्वरुप हुन्छ।

गीतमा पनि सूक्ष्म रुपमा कथानक, चरित्र र पर्यावरणको चित्रण गरिएको हुन्छ। वर्तमान समयमा विज्ञान र प्रविधिको कारणले डिजिटल माध्यममा प्रवेश गरेको छ। त्यसैले यसको लोकप्रियता सबै साहित्यका विधाका तुलनामा बेशी नै छ। परापूर्वकालमा वन पाखा जाँदा, मेलापात गर्दा र हिउद वर्खामासमा काममा झार्को नलागोस भनि मनका कारुणिक र रोमान्स अभिव्यक्त गर्ने माध्यम बनेको थियो, गीत। तर अहिले उसको क्षेत्र सिमित छैन्।

साहित्यका अन्य विधामा बौद्धिकता र दार्शनिकता पाइने भएकाले सर्वसाधारण पाठक र दर्शक माझ साधारणीकरण हुन् समय लागे पनि गीतमा भावको एक झट्का वा संवेगको एक झोक्कामा सहज तरिकाले व्यक्त गर्ने ताकत हुन्छ। 
मान्छे स्वभावैले सरल र सहज प्रेमी भएकोले गीत सबैको लोकप्रिय हुन्छ । गीत गाउनका लागि लेखिन्छ। भावसँगै लय,कल्पना, सङगीत,बिम्ब प्रतीक र भाषा यसका प्रमूख तत्त्वहरु हुन। 

नेपाली समाज विविधतायुक्त रहेको छ। यहाँ १२३ भाषा र १२४ जातका मानिसको बसोबास रहेको छ। जात अनुसार मान्छेको संस्कार पृथक छन्। भौगोलिक पृथकता अनुसार मान्छेको मनोविज्ञान फरक छ। यहाँ प्रत्येक खोलाको पानीको स्वाद, प्रत्येक फूलको सुवास र प्रत्येक चराको आवाज आफैमा मौलिक र कालझैँ सङ्गीत जस्तो लाग्छ । त्यसैले नेपालमा पृथकता र मौलिकता जताततै भेट्याउन सकिन्छ। 

सामान्य अर्थमा प्रयोगवाद भन्नाले नयाँ नयाँ कुराको खोज भन्नु बुझिन्छ। चलिआएको तरिका भन्दा केही भिन्न भन्ने अर्थ हो, प्रयोगशीलता।  साहित्यका विभिन्न विधामा बेलाबेला नयाँपनको खोज भएको छ। गीत पनि साहित्यकै विधा भएकाले गीत पनि यसमा अछुतो रहन सकेको छैन। 

च्रक बम गोदावरी ७ कैलाली निवासी सर्जक हो (उ मेरो गुच्चा खेल्दा देखिको साथी भएकोले हाम्रो एक आपसमा तँ तँ म म चल्छ)। उसले गीत सङ्गीत क्षेत्रमा औपचारिक प्रवेश गरेको लगभग एकदश जति भयो। उसका गीतमा पाइने प्रमुख विशेषता भनेको प्रयोगशीलता नै हो। बलले चलिआएका मान्यता भन्दा केही भिन्न गर्ने प्रयास गर्छ। उसका प्रत्येक गीत भाषिक, शैली, भाव र संरचनाका हिसाबले प्रयोगशील छन्।  गायनको शुरुवातमै उसले मालाखेती हाट लागेको मोटा चावलको गीत मार्फत लोकदोहोरी स्टाइलमा डेउडाको प्रवेश गरायो। अपितु त्यो भन्दा पहिले पनि यस्तो प्रयोग नभएको चै कदापी होइन। 

चुङगम पड्काउने दारु सड्काउनेयो गीतमा उसले डोटेली भाषाको प्रयोग गरेको छ। लोकपप स्टाइलमा भाषिक विविधता यस गीतको प्रमुख विशेषता हो। समसामयिक नेपाली समाजमा युवावर्गले भोग्नु परेको मानसिक तवाबले कुलतामा फस्दै जानु, पुँजीवादले मान्छेको आवश्यकता दिनानुदिन वढ्दै जानु तर कुनै काम नपाएर समय बिताउनुपर्दा युवामा पर्न सक्ने असर यस गीतमा देखाएको छ। सुदुरपश्चिमको डोटेली भाषामा भएका ठेट शब्दलाई लोकपप गायनमा भित्र्याएर युवा वर्गको ध्यान पुनः आफ्नो भाषामा केन्द्रित गर्नमा बम को योगदान पक्कै छ।

नाच भुन्टी नाचयो शब्द प्रत्येक डोटेली भाषा नेपालीलाई कण्ठस्ट भएको हुनुपर्छ। किनकी बच्चामा लोरी गाएझैँ गाएर नाच्न पठाउथे। बच्चाले पैसा वा कुनै मुल्यवान बस्तुको लोभमा हामीले धेरै पल्ट नाचेको पनि थियौँ होला। बम गीत मार्फत हामीलाई विगतको बाल्यकालमा पु¥याउन सफल भएका छन्। समाजमा चलन चल्तीमा आएका उखान टुक्का र लोक भाषालाई विसंरचना गर्नु उनको अर्को विशेषता हो। 

तनाब भाको छ: विश्वमा कुन रोग बढी घातक त भने सजिलै भन्न सकिन्छ, डिपे्रसन। डिप्रसेनलाई सजिलो भाषामा भन्दा तनाब भन्न सकिन्छ। युवावर्गमा दिनानुदिन आइलागेका तनाबका समस्यालाई लिएर उनले आफ्ना गीतमा चोटीलो प्रयोग गरेका छन्। बोलिचालीको भाषालाई उनले प्रयोग गरे। सामाजिक संजालको अत्याधिक प्रयोगले मान्छे नाता सम्बन्धको स्वरुप परिवर्तन भएका छन्। ति नाता सम्बन्धको मिलन विछोडमा देखिएका समस्यालाई उनले गीतमा प्रयोग गरेका छन्। 

जाँडको झोलयो गीत उनको उल्लेखित गीत भन्दा बढी चर्चित भयो। सुदूरपश्चिम बहुभाषिक प्रदेश हो। यहाँ डोटेलीका अलवा थारु र राना थारु भाषा बोलिन्छ। सामाजिक र सांस्कृतिक विविधतामय यस क्षेत्रमा आपसमा मेलमिलापमा बस्नु यहाँको मौलिक र रहस्यमय मनोविज्ञान हो। तर केही समय यता राजनैतिक स्वार्थका कारण सम्बन्धमा दरार पैदा भयो। त्यो खाडल घृणाको खाडल थियो। सम्बन्धलाई पूर्नजीवन दिन सक्ने शक्ति भनेकै प्रेम हो  
बमले जाडको झोलमा प्रेमलाई केन्द्रिय विषयबस्तु बनाएर आफ्ना गीत मार्फत सांस्कृतिक र सामाजिक सद्भावको आह्वान गरेका छन्। थारु र पहाडी मुलका मान्छेको बसोबास रहेको यस मानसखण्डमा फेरि एकता र सहअस्तित्वको जीवन बाँच्न उनको गीतले संदेश दिएको छ। भाषिक विन्यास गरी थारु, डोटेली र नेपाली भाषाको कलात्मक संयोजनले जाँणको झोल नेपाली गीतमा नयाँ प्रयोग भएको छ। 

ओए काँजल: काँजल उसको भरखरै रिजिल भएको गीत हो। सबैभन्दा बढी चर्चित पनि। यो गीतमा कुँमाउ र गडवाल तिरका नेपाली भाषिले बोल्ने लवजलाई नेपालीकरण गर्ने प्रयास गरेको छ। गीतमा नेपालको परापूर्वककालिन भौगोलिक विरासतको सुक्ष्म झल्को छ। गडवाली गीतको कपी गरेको भन्ने आरोप लगाएको पनि सुनिएको छ तर कुनै शब्द दोहोरिनु स्वभाविकै हो। 

किनकी शब्द कसैका निजी हुदैनन्। सबैले आफु अनुकूल प्रयोग गर्ने हो। प्रकृति पहिलो सृजन कर्ता हो। मान्छेले प्रकृतिमा भएका यावत चिजको पुर्नसृजन गर्ने भएकाले पूर्णतयाः मौलिक कुनै चिज हुदैन्। सबैले प्रकृतिमा भएका कुरालाई नयाँ तरिकाले प्रस्तुत गर्ने मात्र हो। 

समाज विशेष गरी प्रगतिशील र यथास्थितिवादी दुई विचार धारामा विभक्त भएको हुन्छ। यथास्थितिले जे छ, जस्तो छ, जसरी चलेको छ त्यो सबै ठीक छ भन्छ। यो विचार धारावादीहरु रेडिमेड जङ्क फुड खान मनपराउने खालका हुन्छ। जसले आफ्ना इन्द्रियको प्रयोग गरी केही नयाँ गरौँ भन्ने सोच राख्दैनन्। तिनको धरातल साँघुरो र सिमित हुन्छ। तर प्रगतिवादीहरु वैचारिक र व्यवहारिक रुपमा प्रयोगवादतिर उन्मुख हुन्छन्। जसले समाजमा चलिआएको भाष्यको विस्थापन गरी समानान्तर भाष्यको निमार्ण गर्न मनपराउँछन् ।

चक्र बमका गीत पनि भाषिक प्रयोग, शैलीगत विविधता र परम्परित मान्यताको विस्थापनामा नवीन र प्रयोगशील छन्। उनी समकालिन गीत सङ्गीत क्षेत्रका उम्दा सर्जक हुन्। अझै बमको मूल्याङ्कन हुन बाँकी नै छ। आगामी दिनमा पनि नयाँ नयाँ प्रयोग गर्दै जाओस्। नेपाली गीत सङ्गीतमा मौलिक काम होस साथी तलाई शुभकामना छ।  
 

कमेन्ट लोड गर्नुस