कोरोनाले थलिएका थारु होमस्टे पाहुनाको पर्खाइमा
धनगढीः ८ महिना पहिले कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित थारु सामुदायिक होमस्टे गाउँ भादाका घर नंं. २ का सञ्चालक पुनाराम चौधरीको दिनचार्य पहुनाहरुको स्वागत सत्कारमा बित्थ्यो।
उनको जिविकोपार्जनको प्रमुख माध्यम नै होम स्टे सञ्चालन हो। पहुनाको सेवा सत्कार गरेबाफत पाउने सेवा शुल्क नै प्रमुख आयस्रोत हो। तर कोरोना महामारीले मानव जीवन नै त्राहिमाम बनेपछि होमस्टे सुनसान भयो। स्थानीयको गुजाराको माध्यम नै सुकेको छ।
पुनाराम चौधरी भन्छन्, ‘पहिले दैनिक जसो पहुनाको आवागमन भैराख्थ्यो। स्थानीय कला संस्कृति, साधन स्रोतको खपत हुन्थ्यो। नियमित आम्दानी हुन्थ्यो। तर महामारीले गर्दा हाम्रो रोजीरोटी नै प्रभावित भयो।’
थारु होम स्टे गाउँ भादा थारु जातिको कला संस्कृति, भेषभुषाको धरोहर नै मानिन्छ । सोही रैथाने कला संस्कृति, भेषभुषा, खानपानको जगमा टेकेर स्थानीयहरु सन २०११ देखि होम स्टे सञ्चालनमा ल्याएका हुन् । हाल २० घरमा होमस्टे सञ्चालन हुँदै आएको छ।
पछिल्लो ८ महिनायता महमारीले आगन्तुकहरुको आवागमन रोकिएपछि सुनसान भएको हो । तर अब होमस्टे सञ्चालकहरु पहुनाहरुको स्वागत गर्न आतुर भएको बताएका छन्।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर होमस्टे सञ्चालन गर्ने बताउँछन्।
धनगढी बजारदेखि १७ किलोमिटरको दुरीमा रहेको भादा थारु जातिको विशुद्ध बसोबास रहेको वस्ती हो । जहाँ हालसम्म २५ हजार बढी आन्तरिक र ३ सय बढी बाह्य पर्यटकहरुले अवलोकन गरिसकेका छन्।
भादा होमस्टे मात्रै होइन, कैलाली कञ्चनपुर जिल्लामा सञ्चालित करिब आधा दर्जन होम स्टे यतिबेला कोरोनाले प्रभावित भएका छन्।
कैलालीको लम्की चुहानगरपालिका ३ मा मुक्तकमैयाले बसेरा थारु होम स्टे सञ्चालन गरेका छन्। सुरुवाती अवस्थामा नै सो होमस्टे कोरानाले प्रभावित भएको छ।
होमस्टेका सचिव दिपु चौधरीले ऋण लगानी गरेर सञ्चालन गरेको होमस्टे नै ठप्प भएपछि निकै मारमा परेको बताउँछन्। पर्यटन बोर्ड र स्थानीय प्रशासनले सञ्चालनमा सहयोग गरे पहुनालाई स्वागत गर्न तयार रहेको उनी बताउँछन्। सो होमस्टे कर्णाली चिसापानी पर्यटन क्षेत्र सँगै जोडिएको छ।
कैलाली कञ्चनपुरमा खास गरी थारु र रानाथारु समुदायले होमस्टे सञ्चालनमा ल्याएका छन् । रैथाने कला संस्कृति, भेषभुषा, खानपान नै होमस्टेका प्रमुख आकर्षण हुन्। पहुनाहरुको मनोरञ्जनको लागि थारु मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाचलगायत प्रदर्शन गर्दै आएका छन्।
मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुँवाको रक्सी, चामलको रक्सी र झोललगायत खानपानले भरपुर स्वागत गर्दै आएका छन्।
बसेरा होमस्टेका सचिव भन्छन्, ‘पहुना आउने बाटो हरेर बसेका छौ। स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गरी पहुनाहरुलाई स्वागत गर्न आतुर भएका छौ।’