नेकपा विभाजित भएपछि कैलालीका स्थानीय तहका प्रमुख र उपप्रमुख पनि विभाजित
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि नेकपा विभाजनको असर नेकपाको तल्लो तहसम्म देखिएको छ। कैलाली जिल्लास्थित स्थानीय तहमा पनि नेकपा विभिजनको असर देखिएको हो।
कैलाली जिल्लाको १३ स्थानीय तहमध्ये ८ स्थानीय तहमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गर्दै आएका छन्। तर नेकपा नै केपी ओली र प्रचण्ड–नेपाल समूह गरी २ खेमामा विभाजन भएपछि नेकपाबाट नेतृत्व गर्दै आएका स्थानीय तहका प्रमुख र उपप्रमुख नै २ खेमामा विभिजित भएको पाइएको हो।
गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउँद ओली खेमाको केन्द्रीय सदस्य मनोनित भएका छन्। तर नगरपालिकाकी उपमेयर रत्ना कडायत प्रचण्ड–नेपाल खेमामा रहेको नेकपा स्रोतले बताएको छ। तर उपमेयर कडायतले आफु सार्वजनिक पद धारण गरेकोले यता वा उताको नरहेको प्रतिक्रिया दिइन्।
घोडाघोडी नगरपालिकाका मेयर ओली खेमाको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। तर उपमेयर प्रेम कुमारी थापा प्रचण्ड–नेपाल खेमामा रहेको नेकपा स्रोतको दाबी छ। यद्यपी उपप्रमुख थापाले आफु उप्रमुख मात्रै रहेको बताउँदै नेकपाको नगर तथा जिल्ला कमिटीमा समेत आफु नरहेकोले यो र त्यो खेमामा गएको भन्न नमिल्ने बताइन्।
भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरी र उपमेयर छाँया देवकोटा प्रचण्ड–नेपाल खेमा रहेको पाइएको बताइएको छ। त्यस्तै, जिल्लाको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौंवा पनि प्रचण्ड–नेपाल खेमामा रहेको स्रोतको दाबी छ।
लम्कीचुुहा नगरपालिकाका मेयर महादेव बजगाई प्रचण्ड–नेपाल खेमामा छन् भने उपमेयर टीका थापा ओली खेमामा रहेको बताइएको छ।
त्यस्तै, गौरीगंगा नगरपालिकाका मेयर भीम देउवा र उपमेयर अञ्चला चौधरी प्रचण्ड–नेपाल खेमामा रहेको बताइएको छ।
बर्दगोरिया गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष बलीराम डंगौराले नेतृत्व गर्दै आएका छन्। गाउँपालिकाकी उपाध्यक्ष भागवती डंगौराथारु भने प्रचण्ड–नेपाल खेमामा रहेको बताइएको छ।
मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावल र उपाध्यक्ष पूजा बुढामगर ओली खेमामा रहेको स्रोतले बताया।े त्यस्तै, चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का मगर र उपाध्यक्ष दीपा देवी साउँद प्रचण्ड–नेपाल खेमामा रहेको बताइएको छ।
तर अध्यक्ष मगरले आफुहरु पार्टी एकताको पक्षमा रहेको बताउँदै कुन समूहमा जाने भन्नेवारे अझै निििश्चत नभएको प्रतिक्रिया दिए। त्यस्तै नेकपाबाट निर्वाचित टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावल भने ओली खेमामा रहेको स्रोतको दाबी छ।
कैलालीको जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेका छन्।
नेकपा विभाजनको असर तल्लो तहमा देखिएको छ। केही नेता कार्यकर्ता भने अझै हेर र पर्खको अवस्थामा रहेका छन्।