प्रादेशिक आयुर्वेदिक अस्पतालको निर्माणमा अन्यौलता
कार्यान्वयन गर्ने निकाय खारेज हुँदा निर्माणमा अलमल
तीव्र गतिमा काम भईरहेको प्रादेशिक आयुर्वेदिक अस्पतालको निर्माणमा अन्यौलता देखिएको छ । निर्माण थालेको ६ महिनामा नै ३५ प्रतिशत भौतिक प्रगति गरेको अवस्थामा अव समस्या आउने देखिएको छ ।
प्रादेशिक आयुर्वेदिक अस्पतालको कार्यान्वयन गर्ने निकाय शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय खारेज भएपछि निर्माणको काम प्रभावित हुने देखिएको हो । अघिल्लो असारमा झण्डै ४ करोड भुक्तानी लिएको निर्माण कम्पनीले त्यसपछि करौडौको काम गर्दा पनि भुक्तानी दिईएको छैन भने कार्यालय नै खारेज भएकोले अवको भुक्तानीको प्रक्रियाले पनि निर्माणमा अलमल भईरहेको छ । गत पुस १३ गते निर्माणको सम्झौता गर्दै गौरी पार्वती एमके जेभीले फागुन अन्तिम सातादेखि आयुवेर्दिक अस्पताल निर्माणको काम थालेकोमा ३५ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कार्य तिव्र गतिमा भएका कारण गत आर्थिक वर्षको वजेटमा थप रकम रकमान्तर गर्दै निर्माण व्यवसायीलाई भुक्तानी दिईएकोमा अव भने निर्माणमा अन्यौलता आउने भएको छ । गत वर्ष एक करोड मात्रै वजेट रहेकोमा तीन करोड थप गर्दै चार करोड रकम भुक्तानी लिएको निर्माण कम्पनी चालु आर्थिक वर्षमा भने अन्यौलता परेको छ । तर पनि निर्माणको समय दिएकोभन्दा ६ महिना पहिले नै काम सम्पन्न गर्ने गरी काम गरिरहेको निर्माण व्यवसायी चन्द्र शाहले वताए ।
ढाई तले भवनका चार वटा ब्लकमध्ये पहिलो तला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पर्खालको काम सकिएको अवस्थामा पिल्लर प्लाष्टर र ढलानको काम धमाधम भईरहेको छ । अवको एक महिनाभित्रै पहिलो तलाको काम पुरा गर्ने लक्ष्य राखिएको छ । तर पनि अहिले समस्याकै विचमा निर्माण कार्य भईरहेको आयोजना हेर्ने जिम्मा पाएका ईन्जिनियर शालिकराम उपाध्यायले वताए ।
धनगढीको राजपुरमा ५० शैयाको क्षेत्रीय आयुर्वेदिक अस्पतालको काम र प्रगति शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कैलालीले हेर्दै आएको थियो । तर सो कार्यालय खारेज भएपछि अहिले कस्ले योजनालाई कार्यान्वयन गर्ने अलमल परिरहेको छ । शहरी विकासको सट्टा सो कार्यालयलाई संघीय आयोजना कार्यान्वयन ईकाई वनाईएको छ । तर कुन कुन आयोजना कस्ले हेर्ने, वजेटको विनियोजन र खर्च गराउने लगायतका कामहरुको वाँडफाँड नहुँदा निर्माणमा समस्या आउने ईन्जिनियर उपाध्यायले जानकारी दिए ।
धनगढी उप–महानगरपालिका वडा नम्वर १३ राजपुरमा ५० शैयाको आयुर्वेदिक अस्पतालको निर्माणको लागि झण्डै १६ करोड लागत लाग्ने अवस्थामा समयमै कामले गति लिएका वेला अव त्यसमा समस्या देखिन थालेको छ । जग्गा प्राप्तिमा विवाद भएपछि लामो समयदेखि अलपत्र परेको क्षेत्रीय आयुर्वेदिक अस्पतालको निर्माणको काम सुरु गर्न सुरुवातमा रुख भएका कारण केही कठिनाई भएको थियो भने अहिले कार्यान्यन गर्ने निकायको अलमलले समस्या भईरहेको छ । १३ जना विशेषज्ञ डाक्टहरुले स्वास्थ्य सेवा दिने प्रादेशिक आयुवेर्दिक अस्पताल निर्माणको कामलाई रोकिन नदिन सवैले पहल गर्न जरुरी छ ।