सुदूर नेपाललाई विश्वसँग जोड्दै

चाउमिन कपाल र टंक तिमिल्सिना

२०७५ असोज १, ०३:५२

१२ वर्षको उमेरमा बुवालाई गुमाइसके पछि मनमा खेल्न थाल्थे रे के के कुराहरु । हुन त घरमा २ जना दाइ एउटा भाइ र आमा हुनुहुन्थ्यो । लाउन खान पुगेकै थियो । दाइ र आमाले पढ्न पठाएकै थिए । तर पनि बुवाको माया कहाँ पाउनु ? ढिलो चाडो मात्र न हो एक दिन छोड्नै पर्छ यो धर्ती ।  एकदिन गुमाउनु नै पर्छ आफ्ना बिराना सबैलाई । मृत्यु एक साश्वत सत्य हो । टंंक तिमिल्सिनाका बुवाझैं नगएका छैनन् अरु पनि कहिल्यै नफर्किने यात्रामा । तर उमेर नपुग्दै छोडेर जानेको बिदाईले नराम्ररी हल्लाउँछ बाँच्नेका जिन्दगीका पाटाहरु । घरमा भएका ससाना केटाकेटीहरुको मनमा आउन थाल्छ एक प्रकारको निर्धोपन । तथापि टंकले देखे आफुजस्ता अरुलाई पनि । उनका केही साथीहरुले पनि गुमाएका थिए सानैमा कसैले आमा त कसैले बुवा । र गुमाएका थिए कसैले बाआमा दुबैलाई पनि । बालाई सम्झनामा बोक्नु शिवाय उनीसँग अरु कुनै बिकल्प रहेन । आंशिक रुपमै भए पनि मन बुझाउनु थियो, बुझाए जसोतसो । र जिन्दगीका मोडहरुमा बेलाबखत बोकिरहे सम्झनामा बालाई । पोेहोर साल मात्रै छोडेर गए दाइले पनि । दुई दाइ मध्ये अब एक जना मात्रै रहे । अचेल उनी काठमाडौंमा डेरा गरेर बसिरहेका छन्। वर्षमा एक दुई पटक समय निकालेर पुग्छन् घरमा । घरमा एक जना दाइ र एक जना भाइसँगै बसिरहेकी आमाको यादले सताउछ बेलाबखत उनलाई र गीतका माध्यमबाट छल्काउछन् मनको छाल यसरी नै :

रमाइलो भा छ होला मेरो गाउँमा 
बस्नै मन छैन मलाई यो ठाउँमा
आजै जाउँ भैसक्यो मेरो गाउँमा

त्यो त्यही गाउँ हो जहाँ उनले गीत गाउन सिके । पैतली चाल्न सिके । कैयौ छो¥याटीहरुले मन बहकाउने गरेर वनजंगलमा सुसेलेका डेउडा भाका सुने र एउटा छुट्टै तरङ्ग पैदा भयो उनको मनमा । सुदूरपश्चिमप्रतिको माया र लगाव रहिरह्यो । काठमाडौंमा बसेर सम्झिए त्यही सुन्दर सुदूरपश्चिमलाई । अछामकै नरेन्द्र रावलका शब्द र लयमा उनीसँगै स्वर मिसाएर पस्के एउटा मिठो सिर्जना । 

सुन्दर भूमि पश्चिम मेरो लाग्छ स्वर्गसरी 
क्रीडा खेल्न आएका छौं राधाकृष्ण हरी 
बैतडी बाइजाऔं छलिया नाचुली दार्चुला बाइजाऔं यार्सा टिपुली
अपीमा जाउली हिमाल चढुली मौसुमी खाउली काफल खाउली
सुन्दर पश्चिम मेरो ढकमक फुली 
गैजाउली पाहाड रुप्से बाटुली 
जिन्दगी हाम्रो सँगै काटुली

२०५२ साल आषाढ १९ गते अछामको कुइकामा जन्मेका टंक अछामकै बिद्यामन्दिर माबिबाट एस एल सी उत्तीर्ण गरी नेपालगंज आइ पुगे ११ कक्षामा भर्ना हुनलाई ।  पढाइसँगसँगै कार्यक्रम प्रस्तोता बने रेडियो भिडियो आवाजमा । त्यतिखेरै सुरु भैसकेको थियो उनको काठमाडौं आउने जाने क्रम । पहिलो पटक सिर्जु अधिकारीसँग लोक दोहरी गीत गाई गीतसंगीतको दुनियामा पाइला टेकेका उनलाई १५-२० वटा गीत गाइसक्दासम्म पनि चिनेका थिएनन् धेरैले । अनि गीत पनि बजेनन् अरुतिर कतै । आफ्नै कार्यक्रमबाट मात्र बजाई रहे । केही समय पछि इण्डिया कार्यक्रममा जाँदा आफ्नै संंगीतमा तयार पारे एउटा लोक पप गीत । 

मलाई भेट्न स्कुटीमा न्यूरोडमा आकि छे
चाउमिन कपाल भन्दै मेरो पछिपछि लाकि छे
फेन्टा प्यूँदै भन्छे ओइ गोरे
यतिभन्दा लाजैले मरे
मेरी छोर्याट्टी

यो गाीत गाइसके पछि उनी चिनिन थाले चाउमिन कपाल भनेर । संयोग पनि कस्तो भने उनले गीतमा भने जस्तै थियो उनको कपाल । त्यो कपालले टाढैबाट चिनिन्थे उनी । करिव चार महिना जति भयो अहिले छैन उनीसँग छाउमिन कपाल । मान्छे जहाँसुकै पुगोस् । जुनसुकै गोरेटामा लम्कियोस । भित्र कतै नकतै कुनै न कुनै रुपमा लुकेकै हुन्छ आफ्नोपन । बेलाबखत टुसाएकै हुन्छ विगत सम्झनाका गराहरुमा । अछामको कुइकामा जन्मेका टंक तिमिल्सिनाले छाने गायन बिधा । गायनमा पनि ¥याप,र लोकपपबाट यात्रा सुरु गरे । सुरुका दिनमा उनी ¥याप र लोकपपभित्रै खन्याउन थाले आफूलाई । तर उनले गाएका ती गीतभित्र पनि सुदूरपश्चिमेली पन आइरह¥यो एउटा दुइटा मात्रै भए पनि अछामतिर बोलिने केही शब्दहरु नजानिदो पाराले देखापरे गीतभित्र ।  बागबजारमा गुररुदेब कामक कहाँ एक वर्ष संगीत सिके उनले । गायनमा अभ्यास गरिरहे । स्वरमा झनझन मिठास ल्याइरहे । उनी भन्छन्–’अहिले आधुनिक,हिन्दी, पप, अँग्रेजी सबै खाले गीत सुन्छु र आफ्नो दिमागले भ्याएसम्म नयाँ बनाउनतिर लाग्छु ।’
यसरी उनले नयाँ नयाँ लय सिर्जना गरिरहेछन् । गायनदेखि संगीतसम्म नयाँ प्रयोग गर्न रुचाउँछन् र त बाटोमा हिँड्दाका बेला पनि गुन्गुनाई रहन्छन् । सुशिल बोहराका शब्द रहेको गीतले पनि निकै नै चर्चा पायो बजारमा । काठमाडौं थापागाउँस्थित सुशिलको राइझुमा रेष्टुरेन्टमा देखा पर्थे टंक गीतकै छलफलका लागि । सुशिलले एकै बसाइमा लेखेको यो गीत सुनाएका थिए मलाई रेकर्ड नहुँदै । त्यतिखेर उनले भनेका थिएनन् स्वर कसको रहन्छ भन्ने कुरा । पछि टंककै लय र स्वरमा सजिएछन् शब्दहरु । निकै नै कर्णप्रिय बन्यो गीत । धीत मर्दैन जति सुने पनि । 

फर्की आउला म गइजाउला सुदूरका डेउडा 
गाउँला टप्पा लोकगीत कौडा राइझुमा झिम्केउडा 
हुना त गौडे भीट होली उसी भेट काँ होली
उइल मेरी झुमा मुलाइ झिमकेली भा होली 
सधै दुःख पाउन्या मेरै कर्म खोटी 
कालो बादल कुहिरो आइग्यो लोटीलोटी
 

“कालो बादल कुइरो आइग्यो लोटीलोटी’ यो गीत सुन्दा याद आउछ तिनै वनपाखा र गाउँघरको । गाउँघरतिर सुनिन्थ्यो ’पारि डाँङा कुइरो लोटन्नाछ, बादल कालो कालो भइग्यो ।‘ यो गीतका शब्दले सम्झाउछ विगतको गाउँघर ।  निकै नै ठेट सुदूरपश्चिमेली शब्द ’गौणे भेट‘ प्रयोग गरे सुशिलले गीतमा । त्यो एकै शब्दले धेरै कुरा बताएझैं लाग्छ । त्यो गौणे भेट पुराना दिनमा मदेश जाने मलौटेको हुन्थ्यो । कहिलेकाही नौ डाँडा पारि पुगेकी चेलीको साथीसँगीहरुसित हुन्थ्यो गौणे भेट। गौणे भेटको महत्व त्यही झल्किन्थ्यो –जहाँ सँगै लुकीछिपी डेउडा खेलेकी, सँगै मेलापात गएकी सँगै गाई गोरु चराउन गएकी, प्रेमिकासँग अचानक बाटोमा भेटहुन्थ्यो र बोलचाल केही नभएर फर्कीफर्की हेर्दै बाटो लाग्नु पथ्र्यो। त्यति बेला अहिलेको जस्तो सञ्चारको बिकास भएको थिएन । इमेल इन्टरनेट, फेसबुक केही थिएन। त्यो गौणे भेट नै जीन्दगीको अबिष्मरणीय पल बन्थ्यो कसैका लागि। त्यो गौणे भीट लेख्ने सुशिल बोहरा आफै बिदेश हिँडिसके । परदेशबाटै सम्झिरहेका होलान् उनले त्यो गौणे भेटका बारेमा । पछिल्लो समयमा टंकले गाएका तीन चार वटा गीतले निकै नै चर्चा पाए । चारैतिर टंकको नाम सुनियो र रातारात चम्किए । यसरी चम्काउने गीत डेउडा नै हुन् । जब उनले डेउडा गीतमा स्वर दिन थाले उनको स्वरको चर्चा हुन थाल्यो । रमेश पन्त पिल्कोटीको शब्द तथा लय रहेको टंक र रेखाले स्वर दिएको यो गीत बजारमा निकै नै चर्चित बन्यो । 

पूर्व जाने बाटामाथि वरपीपलका सेल 
रात नीन नै दिन भोक नाई हो हो हो हो पिरतीका खेल
पूर्व जाने बाटामाथि, पूर्व जाने बाटामाथि
वरपीपलका सेल मैना मेरो माया छ कि छैन
 

उनी सुदूरपश्चिममा जन्मिन पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । उनलाई जति चिनायो डेउडाले नै चिनायो । सुदूरपश्चिमकै उपज हुन डेउडा गीत । त्यही माटोले बढाएको हो गीत गाउने रुची। त्यतैका चाडपर्व कला संस्कृतिले सिकायो धेरै कुरा। बाल्यकालदेखि गाउँघरतिर गुनगुनाएका हुन डेउडा गीत। आज गीत गाएरै कमाइरहेका छन् । उनका अनुसार हरेक वर्ष महोत्सवमा गीत गाउन निम्तो आउँछ कतिपय जिल्लाबाट। वर्षमा १५/२० लाख कमाइ हुन्छ उनको यस्तो कमाइ हुन थालेको एक डेड वर्ष भयो । दूई वर्षभित्रै कतै घडेरी किन्ने योजना छ उनको ।  युटुबबाट पनि राम्रै कमाइ भइरहेको कुरा सुनाउँछन् उनी। 

बाल्यकालको बारेमा सोध्दा निकै भावुक बन्दै सम्झिन्छन् पुराना दिनहरु । उनी सानो छदा निकै नै उट्पट्याङ थिए। बाको खल्तीबाट पैसा चोर्दा पिटाइ खाएको हिजो मात्रै हो कि जस्तो लाग्छ उनलाई । ती दिनहरु आनन्ददायी थिए । न त कुनै किसिमको जिम्मेवरी थियो न त कुनै कुराको डर नै हुन्थ्यो। अब त्यो समय नोस्ट्याल्जियामा मात्रै रह्यो । बाले छोडेको दिन आजसम्मको सबैभन्दा पीडादायी दिन थियो भने पहिलो पटक बिदेशमा डेउडा गीत गाउन गएको दिन जिन्दगीकै खुसीको दिन थियो। अहिले  कतिपय राष्ट्रबाट निम्तो आइरहन्छ। सबैले चिन्न थाले तर त्यतिबेला सुदूरपश्चिम समाज कतारले पठाएको निम्तो नै प्रवासबाट आएको पहिलो निम्तो थियो टंकको लागि । उनी सम्झिरहन्छन् कतारमा रहेका स्नेहील नेपाली मनहरुलाई। 
सामाज सेवाका लागि गरिएका कार्यका लागि रकम जम्मा गर्नु पर्ने अवस्थामा उनी माग्दैनन् परिश्रमिक पनि। बाजुरामा अनाथालय निर्माणका लागि भारतका बिभिन्न सहरमा पुगेर गीत गाए उनले । आयोजकले आउन जान टिकेट र खान बस्नमा जेजति खर्च गरे बाकी आफूले एक पैसा पनि नलिएको कुरा सुनाउँछन् उनी। उनलाई लाग्छ सिक्न बाँकी धेरै छ। २३ वर्षकै उमेरमा १०० भन्दा बढी गीतमा अाफ्नाे सुमधुर स्वर िदएर गायन क्षेत्रमा चर्चित बनेका चाउमिन कपालवालालाई आगामी दिनको शुभकामना।

कमेन्ट लोड गर्नुस