सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै जन्मथलोमा बस्न मान्दैनन चिकित्सक

२०७५ असोज ८, ०८:०३

आफ्नै क्षेत्रका चिकित्सकहरुलाई फर्काउन सके मात्रै प्रदेश नम्वर ७ को स्वास्थ्य क्षेत्रले कोल्टे फेर्ने देखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ७ का १३ अस्पताल सहित अन्य स्वास्थ्यचौकीहरुमा गरि झण्डै २ सय जना चिकित्सकहरुको दरबन्दी छ तर त्यस्मा ३० देखि ४० प्रतिशत दरबन्दी रिक्त छ । प्रदेश भरीको दरबन्दी २ सय रहेका बेला नेपाल मेडीकल काउन्सीलका अनुसार सुदूरपश्चिम जन्मथलो भएका डाक्टरको सङख्या झण्डै ५ सय बढि छ । अस्पतालहरुको स्तरोन्नती गर्दै प्रदेश ७ मै जन्मथलो भएका डाक्टरलाई मात्रै ल्याउन सके सुदूरको स्वास्थ्यले साच्चिकै छलाङ मार्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।
प्रदेश नम्वर ७ मा सबैभन्दा बढि बैतडी जिल्लाले चिकित्सक जन्माएको छ । संघीय राजधानीका ठुला–ठुला अस्पतालमा यसै क्षेत्रले जन्माएका चिकित्सकहरुले ख्याती कमाईरहेका छन् तर प्रदेशवासी भने डाक्टर खोज्दा खोज्दै ज्यान गुमाउन बाध्य छन् । चिकित्सा क्षेत्रको अध्ययन आफ्नै क्षेत्रमा नभएपनि अन्य क्षेत्रमा गएर ठुलो लगानी लगाएर चिकित्सक भएकाहरु सरकारले दिने सेवासुविधामा चित्त बुझाउने कुरै भएन् । जस्ले गर्दा यो क्षेत्रबाट डाक्टर भएका अधिकासंले नेपालको अन्य भुभागलाई रोज्ने गरेका छन् भने झण्डै १५ प्रतिशतको रोजाईमा विदेश पर्न थालेको छ । 
विशेषज्ञता हासिल गरेका चिकित्सकहरू प्रदेश नम्वर ७ मा भन्दा अन्य क्षेत्र र विदेशमा अवसर देखेर उतै पलायन हुने गरेका छन् । आफ्नै क्षेत्रमा सेवा गरिरहेकाहरुलाई पनि अहिले नीजि अस्पतालहरु तानीसकेका छन् । जस्ले गर्दा प्रदेश नम्वर ७ को स्वास्थ्य सेवा पुर्ण रुपमा परनिर्भर बन्दै गएको छ । सरकारी अस्पतालमा चिकित्सकहरुको टिम नहुँदा सामान्य उपचार सेवा पनि असहज बन्दै गएको छ । यस्तो बेला प्रदेश ७ का चिकित्सकरुलाई आफ्नै क्षेत्रको सेवामा फर्काउन सके हिरा पाए जस्तै हुने नेपाल चिकित्सक संघ प्रदेश ७ का सचिव डाक्टर प्रदिप मिश्रले बताए। 
अहिले प्रदेशभरीका अस्पताल र स्वास्थ्य सस्थाहरु प्रदेश सरकारको मातहतमा आईसकेका छन् । यस्तो बेला प्रदेश सरकारले यसै क्षेत्रका चिकित्सकहरुलाई जन्मथलोमा सेवा प्रदान गर्न प्रोत्साहन गर्ने समय पनि आईसकेको छ । दुर्गम र सुगममा बस्नेहरूलाई एउटै मापदण्ड हुँदा पनि डाक्टरहरूको रोजाइमा राजधानी वा तराईका जिल्ला प्राथमिकतामा पर्छन् । प्रदेश सरकारले दुर्गम र गाउँ जानेहरूलाई विशेष सुविधा दिएर आकर्षण गर्न सक्नुपर्छ । चिकित्सकहरू खटाएको ठाउँमा बसे नबसेको जाँच्न सरकारी अनुगमन प्रणालीलाई बलियो बनाउनुपर्छ । हुन त सरकारले बातावरण मिलाए आफ्नै क्षेत्रमा सेवा गर्ने कस्को नहोला र ? प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश ७ घर भएर अन्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी मध्ये आफ्नै क्षेत्रमा काम गर्न ईच्छुकहरुलाई सम्पर्क गर्न आग्रह गर्दा छोटो समयमै ९३ जनाले ईच्छा व्यक्त गरेका प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जनकारी दिए।
चिकित्सा क्षेत्र विशुद्घ नाफा र व्यक्तिगत आर्थिक आम्दानीसँग मात्र जोडिएको क्षेत्र होइन । यो सेवामूलक क्षेत्र हो भन्ने हेक्का राख्नुपर्छ । दीर्घकालीन रूपमा सुधार गर्नुपर्ने धेरै विषय छन् जसलाई प्राथमिकताअनुसार गर्दै जानुपर्छ  तर तत्काल अभाव भएका स्थानमा चिकित्सकहरू पुगाउनका लागि आफ्नै क्षेत्रका चिकित्सकहरुलाई फर्काउने प्रयास गर्ने हो की ? 
प्रदेश नम्वर ७ मा दरबन्दी अनुसार चिकित्सक नहुँदा उपचार नपाएर ज्यान गुमाउनपर्ने बाध्यता रहेका बेला यस क्षेत्रका चिकित्सकहरु भने प्रदेश बाहिर देश विदेशमा उपचार सेवामा सक्रिय रहेका छन् । प्रदेश नम्वर ७ मा काम गर्ने वातावरण नभएको भन्दै प्रदेश नम्वर ७ जन्मथलो भएर चिकित्सक बनेका अधिकासंले देशका अन्य भुभाग र विदेशमा उपचार सेवा गरिरहेका हुन् । प्रदेश सरकारले आफ्नै क्षेत्रका चिकित्सकहरुलाई फर्काउन सके मात्रै प्रदेश नम्वर ७ को स्वास्थ्य क्षेत्रले कोल्टे फेर्ने देखिएको छ । 
प्रदेश नम्वर ७ मा जन्मथलो भएका चिकित्सकहरुले अहिले देश विदेशमा ख्याती कमाएका छन् । धेरैले सुदूरपश्चिम जन्मथलो भएका चिकित्सकहरुलाई यसै क्षेत्रको उपचार सेवामा सक्रिय बनाउन सके स्वास्थ्य सेवामाथिको परनिर्भरता पूण रुपमा अन्त्य हुने पनि टिप्पणी गरेका छन् । 

कमेन्ट लोड गर्नुस