विशेषज्ञ डाक्टर टिकाउन उपकरण र सेवासुबिधाको सुनिश्चितता गर्न आग्रह
स्वास्थ्य संस्थामा उपकरण र सेवा सुबिधाको सुनिश्चितता गरि विशेषज्ञ डाक्टर बस्नेसके मात्रै प्रदेश नम्वर ७ को स्वास्थ्य क्षेत्रमा सुधार हुने देखिएको छ। प्रदेश नम्वर ७ मा जन्मथलो भई प्रदेश बाहिरका विभिन्न ठाउँमा उपचार सेवामा सक्रिय भएर देशमै ख्यातीप्राप्त चिकित्सकहरुले प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँन स्वास्थ्य संस्थामा उपकरण र सेवा सुबिधाको सुनिश्चितता गराउन पर्नेमा जोड दिएका हुन्। यहि प्रदेशले देशमा ख्याती कमाउन सफल चिकित्सक जन्माउन सकेपनि उनीहरुले आफ्नै प्रदेशमा स्वास्थ्य सेवामा संग्लन हुने वातावरण भने बनाउन नसकेको उनीहरुको तर्क छ ।
स्वास्थ्य संस्थामा उपकरण र सेवा सुबिधासंगै ठाउँको विकासमा सरकारको ध्यान केन्द्रित भए विशेषज्ञ डाक्टर टिकाउन कुनै मुस्किल नदेखिएको हो। स्वास्थ्य सेवाका दृष्टिकोणले सरकारी तथ्याङमा प्रदेश नम्बर ७ का केही जिल्लाहरु नेपालमै उत्कृष्ट भएपनि उपचारा सेवामा परनिर्भरता बढ्दै गएका बेला अव प्रदेश सरकारले सुदूरको स्वास्थ्यको मुहार फेर्न सक्ने देखिएको हो। विशेषज्ञ डाक्टर टिकाउनका लागि सुरुमा विशेषज्ञ सेवा प्रदान गर्ने उपकरण ल्याउनुपर्नेमा डोटी घर भई टिचिङ अस्पतालमा कार्यरत बरिष्ठ अर्थोपेडीक डाक्टर दिपक महराको जोड छ।
प्रदेश नम्वर ७ मा रहेका स्वास्थ्य चौकीदेखि उप क्षेत्रीय अस्पतालले समेत जटिल प्रकारका बिरामीलाई नेपालगञ्ज, काठमाण्डौं अथवा भारतमा रिफर गर्नुको बिकल्प छैन। अझ मुटु, मृगौला, मस्तिष्क, क्यान्सर लगायतका गम्भीर प्रकृतीका रोगको निदान र उपचार पद्धतिको प्रभावकारी रुवमा शुरुवात नै हुन सकेको छैन। यस्को मुख्य कारण सरकारी निकायहरु र जनताले जिताएका नेताहरुले सुदूरपश्चिममा डाक्टर बस्न नमान्नुलाई बताउका छन्। तर सुदूरपश्चिममा डाक्टर किन बस्न मान्दैनन भन्ने कुराको भने खोजी हुन नसकेको डाक्टर महराको बुझाई छ। अस्पतालमा विशेषज्ञ डाक्टर टिकाउने हो भने ठाउँको विकासमा पनि जोड दिनुपर्ने बैतडी घर भई नर्भिक अस्पतालमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्टको जोड छ।
प्रदेश नम्वर ७ ले देशमा औलामा गनिने ख्याती प्राप्त धेरै चिकित्सक जन्माएको छ। डाक्टर महरा, डाक्टर भट्ट बाहेक, छातीरोग विशेषज्ञ दिर्घसिह बम, आखा रोग विशेषज्ञ चेतराज पन्त र पदमराज विष्ट, स्त्रीरोग विशेषज्ञ डाक्टर पदमराज पन्त, एनेस्थेतीया डाक्टर विरेन्द्र सिह लगायतका चिकित्सा क्षेत्रमा थुप्रै हस्तीहरुलाई यसै प्रदेशले जन्म दिएको हो तर सवै अहिले प्रदेश बाहिरका स्वास्थ्य सस्थामा कार्यरत छन्। त्यस्को मुख्य कारण उनीहरुले यसै प्रदेशमा उपचार गर्नका लागि ७ नम्वर प्रदेशका स्वास्थ्य सस्थामा उपकरण समेत छैन्। यस्तै स्वास्थ्यको नीति निर्माण गर्नका लागि जनस्वास्थ्य विज्ञ डाक्टर लक्ष्मीराज पाठक, विडी चटौत, पदम वहादुर चन्द, भिम सिह टिकरी जस्ता हस्तीहरुलाई पनि यसै प्रदेशले जन्म दिएको हो। धेरै स्वस्थ्य सेवा विभागको महानिर्देश र स्वास्थ्य सचिव सम्मको पद सम्हालीसकेका छन्। तर प्रदेश ७ का वासीन्दाले स्वास्थ्य सेवाका लागि कहिले सम्म परनिर्भर हुनुपर्ने हो टुङगो छैन्। जनस्वास्थ्य विज्ञ डाक्टर भिमसिह टिंकरीले डाक्टर टिक्न नसक्नुको प्रमुख कारणको खोजीहुनु पर्ने बताए।
प्रदेश नम्वर ७ मा निजी तथा सरकारी स्वामित्वमा सञ्चालित एउटा पनि मेडिकल कलेज छैन्। भएका स्वास्थ्य संस्थापनि भौतिक संरचना, जनशक्ति, आवश्यक अत्याधुनिक उपकरणको अभावसंग जुधिरहेका छन्। यस्तो बेला विशेषज्ञ डाक्टर आउने कुरै भएन। भूगोल र जनसंख्याको अनुपातमा ३० मिनेटको दूरीमा एक स्वास्थ्य संस्था, २० हजार जनसंख्यामा एक प्राथमिक स्वास्थ्य केन्द्र ,१ लाख जनसंख्याको लागि २५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने नियम भएपनि त्यो प्रदेशवासीका लागि आकासको फल जस्तै बनेको छ। त्यसैले सरकारले डाक्टर टिकाउन मुस्कील छ भन्दै पन्छिुनु भन्दा त्यस्को कारण खोजी गर्दै डाक्टर टिकाउने वातावरण मिलाउन आवश्यक रहेको बरिष्ठ अर्थोपेडीक डाक्टर दिपक महराको भनाई छ।
प्रदेश नम्बर सात सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि चालु आर्थिक बर्षको बजेटमा ‘एक गाउँ, एक स्वास्थ्य चौकी, एक स्थानीय तह, एक अस्पताल’ को अवधारणा ल्याएको छ। तर भएकै स्वास्थ्य सस्थाको उचित व्यवस्थापनमा भने सरकार उदासीन छ। प्रदेश नम्वर ७ मा जन्मथलो भई प्रदेश बाहिरका विभिन्न ठाउँमा उपचार सेवामा सक्रिय भएर देशमै ख्यातीप्राप्त चिकित्सकहरुले प्रदेशको स्वास्थ्यमा सुधार ल्याउन आफुहरु पनि खोजीरहेकाले सरकारले वातावरण मिलाउन पर्ने बताएका छन्। उनीहरुले सुरुमा प्रदेश सरकारलाई सुदूरले जन्माएका डाक्टरको सुचि तयार पार्न पनि आग्रह गरेका छन्।