ओ ! ‘कवि जी’
कवि जी ! ओ कवि जी !
के लेखिरहेको ?
किन एकोहोरिएको ?
कसले बुझ्छ तिमीलाई ?
कसले विचार गर्छ तिम्रा थोत्रा शब्दहरुमा,
यो त झुट बिक्ने बजार हो ।
तिमी व्यर्थ रुपान्तरणको कल्पना गरिरहेछौ ।
बन्द गर तिम्रो कलम,
किन टोलाएको ?
किन चिच्याएको ?
यहाँ त आज फुल दिएर पनि,
तिनै हातले भोलि ढुङ्गा हान्नेहरु छन् ।
के तिमीले बिर्सियौं,
मनसुरको इतिहास,
यशूको इतिहास,
सुकरातको कथा,
ओ कवि जी !
के तिमीले पढेका छैनौ ?
सेमस द्विपमा इसपको दुःखद घटना,
किन व्यर्थ परिवर्तनको सपना बुनिहेछौ ?
ओ कवि जी !
कस्ले बुझ्छ तिमीलाई ?
कस्ले विचार गर्छ तिम्रा थोत्रा शब्दहरुमा,
यो त झुट बिक्ने बजार हो ।
देवकोटालाइ राची पुर्याउने समाज हो यो ।
मदनलाइ अप्ठ्यारोमा छोडेर,
मुनालाइ बलात्कार गर्न चाहने समाज हो यो ।
ओ कवि जी !
बन्द गर लेख्न,
बन्द गर बोल्न ,
तिमी पनि सृजनाका नाममा,
विष मिसाउन चाहन्छौ ?
जो आफैलाइ घातक हुनसक्छ ।
महिलालाइ जिउँदै आगो झोस्ने ,
मान्छेलाई आगन पर धपाएर,
पाशविकता पोस्ने समाज हो यो ।
जस्को पसिनाबाट मुर्ति बनेर मन्दिरमा सजिएको छ ।
उसैलाई मन्दिरमा निषेध गर्ने समाज हो यो ।
अझै पनि उस्तैगरी बल्झिनै रहेको छ,
जातिभेद रङ्गभेदका आला घाउहरु ।
ओ कवि जी !
के तिमी समानताको गाथा कोरिरहेछौ?
कसले बुझ्छ तिमिलाइ ?
कस्ले विचार गर्छ तिम्रा थोत्रा शब्दहरुमा,
यो त झुट बिक्ने बजार हो ।
यहाँ गरिन्छ केवल सुनौलो सपनाको खेती ,
गाइन्छ यहाँ समानताको गाथा जो शब्दमा सिमित छ ।
तिमीले यो विश्व,
यो मुलुकको इतिहास केलाएका छौ ?
कलिला हातहरुमा बन्दुक भिराएर ,
आफ्ना आफ्ना बिचमा रक्तपात गराएर,
माओ र लेलिन थाकिसकेका छन् यहाँ,
तिमी व्यर्थ सपना बुनिरहेछौ परिवर्तनको ।
तिमीले लेख्दैमा रित्तो झोलामा,
एक थुप्रो प्रमाणपत्र बोकेका युवाहरु,
त्यहि रित्तो झोलामा रंगिन सपना बोकेर उडेका युवाहरू,
रोकिन सक्लान ? मोडिन सक्लान ?
के तिम्रो कलमको धर्कोले,
विकासको मुल फुटाउने मार्ग कोर्न सक्ला ?
तिमी व्यर्थ रुपान्तरणको कल्पना गरिरहेछौ कवि,
कसले बुझ्छ तिमिलाई ?
कस्ले विचार गर्छ तिम्रा थोत्रा शब्दहरुमा,
ओ कवि जी !
यो त झुट बिक्ने बजार हो ।
-रेशमराज बोकटी क्षेत्री