विशेषज्ञ चिकित्सक अभावमा मुटुरोगको पहिचान गर्नै मुस्किल
सुदूरपश्चिम प्रदेशरभरी मुटु रोगीको संख्या दिनप्रतिदिन बढेपनि दक्ष चिकित्सक र उपकरण अभावले रोगको पहिचान गर्नै मुस्किल भएको छ। सुदूरपश्चिम प्रदेशमा डडेल्धुराको उपक्षेत्रीय अस्पताल र धनगढीको सेती अञ्चल अस्पतालमा गरी २ जना मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि सुरुवातदेखि नै रिक्त छ।
२८ लाख जनसङख्या रहेको प्रदेश नम्वर ७ मा एक जना मुटुरोग विशेषज्ञ चिकित्सक पठाउन समेत विगतमा स्वास्थ्य मन्त्रालयले आनाकानी गरेकोमा अहिले आएर प्रदेशको स्वास्थ्य मन्त्रालयले पनि डाक्टर ल्याउन पलह गरेको छैन। सुदूरपश्चिम प्रदेशमा मुटुरोगका विशेषज्ञ चिकित्सक नभएपछि हृदयघातका कारण ज्यान गुमाउनेको सङख्या बढ्दै गएका बेला प्रदेशको सामाजिक विकास मन्त्रालय भने मुटुरोग विशेषज्ञ डाक्टर देशभरी नै कम भएको भन्दै आनाकानी गर्दै आएको छ।
प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा सरकारले ३ बर्षअघि मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी सृर्जना गरेको थियो। तर दरबन्दी सुरुवातदेखी नै रिक्त रहेको सेती अञ्चल अस्पतालले जनाएको छ। विगतमा अस्पताल विकास समिती र अस्पताल प्रशासनले उक्त दरबन्दी परिपुर्तीका लागी पटक–पटक मन्त्रालय धाएपनि वास्ता नगरेको बताउदै आएको थियो। अहिले सेती अञ्चल अस्पताल प्रदेश मातहतमा आईसक्दा पनि मुटुरोग विशेषज्ञ डाक्टर ल्याउन भने पहल गरेको छैन्।
यस्तै डडेल्धुराको उप क्षेत्रीय अस्प्तालमा पनि सुरुवातदेखि नै मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त रहेको अस्पतालका मेसु डाक्टर जितेन्द्र कडेलले जानकारी दिए। प्रदेशका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये कम्तीमा २५ प्रतिशत कुनै न कुनै प्रकारका मुटुरोगी रहेका छन्। प्रदेश नम्वर ७ मा पनि मुटुरोगका विरामीको ठुलो चाप रहेकाले कम्पतीमा पनि पाँच जना मुटुरोग विशेषज्ञ डाक्टरको आवश्यकता महसुस गरीएको सेती अञ्चल अस्पतालका फिजीसियन डाक्टर शेर वहादुर कमरको भनाई छ।
कैलाली, कञ्चनपुरमा हिउँमा हृदयघात भएर धेरैले ज्यान गुमाईसकेका छन्। चिकित्सकहरुका अनुसार ४० बर्ष कटीसकेका कम्तीमा पनि ४० प्रतिशत जनसङख्यालाई कुनै न कुनै किसिमको मुटु सम्वन्धीको रोग हुने गरेको छ। यसै क्षेत्रमा मुटु रोगका विशेषज्ञ चिकीत्सकको उपलव्धता भए नियमीत निगरानीमा रहन र हृदयघातपछिको एक घण्टा भित्रै विशेषज्ञ सेवा पाएर ज्यान जोगाउन निकै सजिलो हुने उप क्षेत्रीय अस्पतालका मेसु कडेलले बताए।
प्रदेशमा मुटुको अप्रेसन गरी भल्व फेरेका विरामी पनि विशेषज्ञ डाक्टर नहुँदा समस्यामा पर्दै आएका छन्। जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै गएपनि मुटुरोग विशेषज्ञ प्रदेशभरी एक जना पनि नहुनेले यस क्षेत्रको सरकार र नेताहरुको नियत झल्काउने मुटुरोगीहरुले बताएका छन्।