भारतका धावक मिल्खा सिंहको निधन
एजेन्सी: भारतका धावक मिल्खा सिंहको निधन भएको छ। कोरोना भाइरसको सङ्क्रमण भएपछि चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
९१ वर्षका सिंहको शुक्रबार राति साढे ११ बजे निधन भएको बताइएको छ। मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण पुस्टि भएका उनलाई जुन ३ तारिखमा अस्पताल भर्ना गरिएको थियो। उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो। त्यसपछिको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो।
तर, फेरि स्वास्थ्यमा समस्या देखिएपछि आइसीयूमा भर्ना गरिएका उनको उपचारकै क्रममा निधन भएको हो। पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो। सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए। उनले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए। उनी भारतीय सेनामा पनि थिए। सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन्।