सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी ११७ किलोकी सानुमाया, यसरी भइन् टिकटक ‘स्टार’

२०७८ साउन ३२, १२:०० खबर संवाददाता

धनगढी : सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउन थालेको डेढ वर्ष मात्रै भएको छ उनलाई। तर टिकटक सेलिब्रेटीको दर्जा पाउन थालेकी छिन् उनी। उनी अर्थात २९ वर्षीया भावना आचार्य। जो टिकटकमा सानुमाया नामले परिचित छिन्।

सानुमाया केही दिन अगाडि मात्रै भाइरल भएको डोटीको बुडरस्थित छहरा झरना पुगिन्। उनी भन्छिन्, ‘छहरा झरना पुग्दा मलाई नचिन्ने कमै देखिए। त्यहाँको माहोल हेर्दा त टिकटक स्टार नै भएको अनुभुती भयो।’ रमाइलोका लागि मात्रै टिकटक बनाउँदा बनाउँदै धेरैले चिन्न थालेको अनुभव उनको छ। 

‘छोटो भिडियोमै अभिनय क्षमता देखाउन पाइने भएपछि टिकटक चलाउन थालेकी हुँ,’ उनले भनिन्, ‘सुरुवातको समयमा रमाइलोका लागि मात्रै टिकटक बनाउन थालेकी थिए। तर टिकटक भिडियो बनाउँदै गर्दा अहिले चर्चामा आए।’ दैनिक ३÷४ टिकटक भिडियो बनाएर अपलोड गर्दै आएको उनले बताइन्।

‘टिकट बनाउँदै जाँदा धेरैको साथ सहयोग पाइयो। सकारात्मक प्रतिक्रिया आउँदै गए। अनि भाइरल नै बनाइदिए,’ सानुमायाले भनिन्। उनका अनुसार डेढ वर्ष अगाडि टिकटक बनाउन सुरु गर्दा तौल एक सय ११ किलो थियो। ‘टिकटक बनाउँदा छमछमी नाचेपछि तौल पनि घट्छ होला जस्तो लागेको थियो,’ सानुमायाले भनिन्, ‘तर त्यस्तो भएन्। एक पटक एक सय ३० किलो पुगेकी थिए। अहिले १३ किलो घटेर एक सय १७ किलोकी भएकी छु।’ टिकटकमा अभिनय क्षमताले मात्र नभएर माटोपनले पनि चर्चामा आए जस्तो लाग्छ सानुमायालाई।  

’मैले टिकटक बनाएपछि मोटोपन भएका व्यक्तिलाई समाजमा खुल्न सहज भएको अनुभव छ,’ उनी भन्छिन्, ‘मोटो व्यक्तिहरु घर बाहिर आउन पनि लाज मान्ने गरेका थिए। तर मैले टिकटकमा भिडियो बनाउन थालेपछि त्यस्ता व्यक्तिलाई सहज भएको छ।’ 

एक छोरीकी आमा सानुमायाको घर कैलालीको टीकापुर हो। उनी टीकापुरमै व्यवसाय गर्दै आएकी छिन् भने फुर्सदको समयमा टिकटक बनाउने गरेकी छिन्। टिकटक बनाउन थालेको डेढ वर्षमै सानुमायालाई चार लाख तीन हजार बढीले फलो गरेका छन्। उनका भिडियोमा ८५ लाखको लाइक छ। एउटै भिडियो १७ लाख बढीले हेरेका छन्। 
 

कमेन्ट लोड गर्नुस