चलचित्र ‘एक’ डिजिटल प्लेटफर्ममा रिलिज हुने
काठमाडौं : कोरोना महामारीका कारण नेपाली सिने क्षेत्र थला परिरहेका बेला चलचित्र ‘एक’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ। चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको हो।
मनोज पण्डितको निर्देशनमा बनेको चलिचत्र आगामी असोज २१ गते घटस्थापनाका दिनदेखि डिजिटल प्लेटफर्महरुमा रिजिल हुनेछ। चलचित्र ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल छन्। यो सिनेमामा उनले एक गुप्तचरको भूमिका खेलेका छन्। निर्देशक पण्डितका अनुसार राजनीतिमार्फत देशविरुद्ध लाग्नेहरू विरुद्ध उनले गरेको संघर्षको कथा चलचित्र ‘एक’ले बोकेको छ।
चलचित्रको कथा खासगरी मधेस मुद्दामा केन्द्रित छ। तर चलचित्रको छायांकन भने मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको छ। गुप्तचर अधिकारीको भूमिकामा देखिएका विशालले चलचित्र एकलाई आफ्नो सिनेमा करिअरको ‘दोस्रो र निकै चुनौतीपूर्ण इनिङ्स्’का रुपमा लिएका छन्।
राजनीतिक परिचक्रभित्र घुमेको यो चलचित्र एक्सनले पनि भरिपूर्ण छ। चलचित्रमा एक्सन निर्देशन प्रमोद खड्काले गरेका छन् भने अर्को मुख्य भूमिकामा प्रमोद अग्रह पनि छन्।
निर्देशकीय
विदेशी शक्ति केन्द्रहरूको स्वार्थका लागि नेपाल ‘प्ले ग्राउन्ड’ बनेको तथ्यलाई कसैले नकार्न मिल्दैन। यसैका कारण नेपालको राजनीति सधै अस्थिर नै भइरह्यो। र त्यसको परिणाम नेपाली जनताले भोग्न बाध्य भइरहनुपरेको छ। हस्तक्षेपको अनेकन स्वरूवहरू देखेर हुर्केको हुँदा म भित्र आफ्नो देश जोगाउनुपर्छ भन्ने बिचार र भावना अत्यन्त क्रियाशील छ। यसैको परिणाम हो चलचित्र ‘एक’।
ग्रेटर नेपाल वृत्तचित्र बनाउँदा भारतसँग ‘सिमाना जोडिएका तराईका भूगोल छिचोल्दै गर्दा मैले स्वतन्त्र मधेसको राजनैतिक बिचार बोकेका केही युवासँग भेट्ने मौका पाएको थिए। र उनीहरूको त्यो विखण्डनकारी सोचेको पृष्ठभूमि बुझ्ने मौका पनि पाएको थिएँ। जो मेरे सोचको ठ्याक्कै विपरीत थियो। पछिल्लो चरणमा त्यो विखण्डनको सोच बढ्दै जाँदा म भित्र यस्तो चिन्ता बढ्नु स्वभाविकै थियो। र यसमा विदेशी शक्तिको आफ्नो स्वार्थ जोडिनुले झनै चिन्ता बढाइदिएको थियो।
एउटा सामान्य नागरिक भएको हिसावले हाम्रो देश विदेशी स्वार्थहरूको क्रिडास्थल बनिरहँदा त्यसका विरुद्ध धेरै ठूलो प्रतिक्रिया दिन नसके पनि आफ्नो सृजनशीलताका माध्यममार्फत त्यो परिस्थितिलाई चुनौती दिने कथामा आधारित चित्रकथा भन्छु भन्ने निर्णय मैले गरेँ।
र, यही उत्प्रेरणामा ‘सि.एस. आई’ नामक एउटा त्यस्तो काल्पनिक गुप्तचर संस्थाको परिकल्पना गरेँ। जसले देशका विरूद्ध हुने सम्पूर्ण विदेशी षड्यन्त्रहरूलाई निस्तेज पार्नेछ। अनि त्यही संस्थाको जिम्मेवार र इमान्दार एजेन्टको मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित भएर चलचित्र ‘एक’ जन्मियो।
मनोज पण्डित
निर्देशक, चलचित्र ‘एक’