सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधानको बेदना

२०७८ असोज ३, १०:३१

म त्यो किताब हुँ जो सदा 
महत्त्वको र चर्चाको शिखरमा हुन्छु 
म त्यो शक्ति हुँ जो सदा 
शब्दको प्रयोगबाट चल्दछु 
कहिले क्रान्ति त कहिले प्रणालीबाट
म नौलो भइरहन्छु 
हुँदाहुँदा म परिवर्तन भइराख्नेलाइ चिन्ने कोहि हुँदैन 

बनाउनेहरु, लेख्नेहरु र बोली बोल्नेहरु 
मेरै लागि लडेको भन्दछन् 
म निर्जीव स्वरुपमा हुँदा 
मेरो सम्मान पुस्तकालय बाहेक अन्त हुँदैन 
अध्यता र सम्बद्ध बाहेक  अरुसँग म हुँदैन 
देश चल्छ मेरै शब्दको वरिपरिको घुम्तीले 
भेष बदलिन्छ मेरै शब्दको प्रयोगले 
तर म आज 
आफैं चिन्तित छु म ठिक त छु ?
आफैं सोध्छु म चलिरहेकै त छु ?
अरु कागजमा लेखिने भन्दा म भिन्न हुँ
तर 
भिन्नताको महसुस गर्नेहरू आफैं सोचमग्न 
र चिन्तामा छन् 
सपना बोकी मुग्लान जानेहरु म चिन्दैनन 
मलाई बोकी सत्तामा पुग्नेहरु म बुझ्दैनन 
मेरो परिभाषा 
किताबहरुमा छापिरहँदा म  व्यपहारमा छापिन सकेन 

यहि मेरो पीडा बुझ्नुछ सबैले 
निराशाको हतियार नबनाउनुहोला मलाई 
किनकी 
मलाई बनाउने, प्रयोग गर्ने अनि विशेष भन्दै 
सजावटमा रम्न लगाउने तपाई 
त्यसैले 
मेरो प्रयोगको मह्त्व र यथार्थ धरातल जान्नुहोला 
आशा गर्छु जसका लागि म बने तिनको 
अवस्था र दैनिकीमा परिवर्तन गर्नेछु 
त्यो आशा जिवित राख्ने कि मार्ने
जिम्मा तपाईंको ?

-प्रबिन चन्द, सिगास गाउँपालिका–९ बैतडी हाल धनगढी ३ विशालनगर 
 

कमेन्ट लोड गर्नुस