सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीउभरी मैनबत्ती टाँसेर नाच्ने धनगढीका देबु, ४ कक्षामा पढ्दा पहिलो ‘कोरियोग्राफी’

२०७८ असोज १४, ०४:३८ नारायण अवस्थी

धनगढी: देबु ३ वर्षका हुँदा बुवालाई खोज्न थालेका थिए। किनकी बहादुरसिंह वराका पाँच छोरा र एक छोरी मध्ये सबैभन्दा कान्छा देबुले ५ महिनाको उमेरमा नै बुवा गुमाईसकेका थिए। धनगढी उपमहानगरपालिका–१ को शान्तीनरमा जन्मिएका उनले गाउँघरमा सबैका बुवा देख्थे। त्यो देख्दा आफ्ना बुवा नखोज्ने कुरै भएन्। प्रायजसो उनले घरमा आफ्नो बुवा खै भनेर आमालाई सोध्ने गर्थे। उनले बारम्बार गर्ने प्रश्न एउटै हुन्थ्यो, ‘सबैका बा छन् मेरा खै ?’ देबुको त्यो प्रश्नले परिवारका सदस्यहरुलाई निकै ठूलो समस्या पर्न थाल्यो। बुवाको मृत्यु भइसकेको भन्ने यथार्थ बुझाउनु परिवालाई त्यति सहज थिएन। ३ वर्षको बालकले जन्म, मृत्युको अवधारणा बुझ्न सक्ने अवस्था पनि थिएन। सानो भाइलाई कुनै प्रकारको पीडा र निराशाले नच्यापोस् भनेर हुनुपर्छ देबुको दिदीले जुक्ती निकालेर मादल बजाएर भाइलाई भुलाउन थालिन्। 

जब–जब देबुले बुवा खै भनेर प्रश्न गर्थे। उनकी दिदीले मादल बजाउँथिन्। देबु मादल बजेपछि निकै रमाउँथे। त्यही मादलको ‘घिन्ताङ’ले उनको कलिलो मस्तिष्कमा डेरा जमायो। ‘दिदीले बजाएको त्यहीँ मादलको तालसँग रमाउँदै हुर्केको भएर होला म नजानेर नाच्न पाउँदा निकै रमाउन थाले’ बाल्यकालको अवस्था सम्झेर निकै भावुक भएर उनले सुनाए, ‘हो त्यही नै मादलले बनाएको हो मलाई आजको देबु वरा।’  सानैदेखि गाउँम या टाढा बस्तीमा बाजा बजे या गीत घन्किए देबु आँगनमा एक्लै नाच्थे। उनी सम्झिदै भन्छन्, ‘त्यो बेला म बाजा सुन्यो कि नाच्न थालीहाल्थे। गाउँमा हुने बिहेमा बाजा बजेको सुनेपछि उनी आमफ्नो आँगनमा नाच्न थाल्थे।  एक्लै यसरी नाच्दा दाजुहरुले हकार्थे तर आमाले भने नाच्न देऊ भन्थिन्।’ आमाले निर्धक्क भएर आँगनमा नाच्न दिएको कारणले हुनुपर्छ उनमा नजानिँदो उत्साह नृत्यप्रति जाग्दै गयो। 

धनगढीको सरस्वती प्राविमा चार कक्षामा पढ्दा उनले विद्यालयमा पहिलो नृत्य देखाएको बताए। १० बजे राति स्टेजमा देखाएको पहिलो नृत्यले देबुलाई धनगढीमा चर्चित बनायो।  सबै दर्शकहरुले उनको नृत्यको प्रसंसा गरेछन्। उनले ‘जनम जनम’को बोलको गीतमा केही विद्यार्थीहरुलाई कोरियोग्राफी(नृत्य गर्न) सिकाएको बताए।  २०५७ सालमा प्रेम बिकले निर्देशन गरेको नारीको आवाज शीर्षकको नाटकमा खेल्न देबुलाई डोटी बोलाइयो। त्यतिबेला डोटीमा नाटक महोत्सव चलिरहेको थियो। डोटीको नाटक महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका डा. तुलसी भट्टराई र नीर शाह आएका रहेछन्।

देबुले नाटक देखाएपछि उनी राम्रो नाच्ने मान्छे भएको कुरा नीर शाहले थाहा पाए। शाहले देबुको नृत्य हेर्ने इच्छा गरे छन्। तर नाच्न देबुलाई फास्टबिटको गीत खोज्न निकै कठिन भएछ। सिलगढी बजारमा डुल्दै जाँदा बझाङका कटक नेपालीले गाएको ‘क्या राम्रो देउलको जिल्ला वरिपरी खेती’ बोलको पुरानो गीत उनले पाए। त्यहीँ गीतमा नृत्य प्रस्तुत गरेका देबुले नीर शाहको मन सजिलै जित्न सफल भएको बताए। उनको नृत्यबाट प्रभावित भएर नै नीर शाहले उनलाई काठमाडौं आउने निम्तो दिए। त्यही वर्ष काठमाडौं पुगेर उनी प्रज्ञा प्रतिष्ठानमा जागिर गर्न थाले। नीर शाहले नै उनलाई प्रज्ञा प्रतिष्ठानमा जागिर मिलाईदिए। प्रज्ञाप्रतिष्ठानमा उनले ६ वर्ष जागिर गरे। त्यही जागिरको दौरानमा मालती मंगले, सहनशीला सुशीला, अम्बरसिंह, बौलाहा काजीको सपना जस्ता नाटकमा खेल्ने अवसर पाए। नाम चलेका निर्देशकहरुसँग सिक्ने मौका पाए। २२ वर्षीय सुदूरपश्चिमको ठिटोमा जोशजाँगर भरिँदै आयो। 

जागिर गर्ने क्रममा सुरुमा कसैले वास्ता गर्दैनथे। मित्र राष्ट्र बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा आएको बेला उनको सम्मानमा प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा बंगलादेशका राष्ट्रपतिले २० जना मध्ये देबु वराको नृत्य उत्कृष्ठ रहेको बताएछन्। त्यही दिनदेखि अरुले पनि आफूलाई सम्मानजनक व्यवहार गर्न थालेको देबुले बताए। उनले नृत्यमा फरक स्वाद पस्कन जीउभरी टासेका ५१ वटा मैनबत्ती जलाएर नृत्य प्रस्तुत गर्दा दर्शकहरु चकित परेछन्। सबैले त्यो नृत्य निकै नै रुचाएछन्। तर हलमा आगलागी हुन सक्छ भनेर राष्ट्रिय सभागृह, राष्ट्रिय नाचघर, प्रज्ञाप्रतिष्ठान लगाएतका हलहरुमा आजका दिनसम्म पनि उक्त नृत्य देखाउन प्रतिबन्ध लगाइएको वराले बताए। यो कुरामा निकै दुःखी भएको उनले बताए।

त्यही नृत्यकै कारण केही समयपछि नेपाल टुरिज्मबोर्डबाट उनको खोजी भएछ। सम्पर्कसुत्र उनै नीर शाह भएछन्। सिङ्गापुरमा नृत्य गर्न जानुपर्ने प्रस्ताव आएछ। उनले उक्त प्रस्ताव सहर्ष स्वीकारे छन्। लगतै कोरियाको लागि प्रस्ताव आएछ। त्यसपछि त उनको बाटो बिस्तारै खुल्दै गयो। कोरियाको कार्यक्रममा धेरैजसो राष्ट्रबाट कलाकारहरु नृत्य देखाउन आएका रहेछन्। देबुको मैनबत्ती नृत्यको फोटो होर्डिङबोर्डमा देखेपछि दर्शकहरु ओइरिएका थिए। कोरियामा सुदूरपश्चिमको छलिया पहिरनमा सजिएको नौजवानलाई देखेपछि धेरैले निकै नै गहिरिएर हेरेछन् उनलाई। उनीसँगै जापान र थाइल्याण्डको नृत्य अन्तिम चरणमा पुगेकोमा नेपालबाट उनको नृत्यले प्रथम स्थान हाँसिल गरे। अन्तर्राष्ट्रिय स्वर्ण पदक प्राप्त गर्दाको खुशी मुस्कुराउँदै उनले व्यक्त गरे। 

अहिलेसम्म २० भन्दा बढी देशमा नृत्य देखाउने अवसर पाएका देबुले सुदूरपश्चिमका सबै जिल्लामा गएर नृत्य देखाएको बताए। तर आफ्नो पुख्र्यौली जिल्ला बैतडी भने अहिलेसम्म जान नपाएको उनले बताए। केवल कर्ममा विश्वास गर्ने उनी भन्छन्, ‘मलाई अवार्ड र पदको मोह कहिल्यै जागेन। खासगरी अर्वाड थाप्न र आफ्नो प्रचार–प्रसार गर्न मन नपर्ने उनलाई सुदूरपश्चिमको कला–संस्कृति काठमाडौं र बिदेशमा कसरी पुग्यो भन्ने कुराको खोजी भयो भने त्यसले आमफूलाई खुशी तुल्याउने उनको भनाई छ। 

कला–संस्कृतिको क्षेत्रमा काम गर्न पाउनु नै सर्वथा खुशीको कुरा हो भन्ने आफूले ठान्ने गरेको देबु बताउँछन्। ‘संस्कृति नै रहेन भने हामीले आफूलाई कसरी चिनाउने ? त्यही भएर म जहाँ जान्छु त्यहाँ आफ्नो संस्कृति देखाउन कुनै कसर बाँकी राख्दैन्’ उनले भने।  देबुले काठमाडौंमा हजारौं शिष्य जन्माएको बताए। उनका शिष्यहरु विदेशमा समेत छन्। अस्पताल, कार्यालय जहाँ गएपनि कुनै न कुनै शिष्य भेटिने गरेको अनुभव उनले सुनाउँदै भने, ‘कलाले मलाई नाम दियो, पहिचान दियो, मान दियो, म यो कुराले निकै खुशी छु। जहाँ जान्छु परिचित अनुहार भेट्न पाउँछु।’ 

कालो पुलमा रहेको आफ्नै प्रसिद्धि कला समूह स्थापना गरेका उनले दिनमा दर्जन बढी कक्षा लिने गरेको सुनाए। बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म नृत्य सिकाउँने उनको दिनचार्या कोरोना आएदेखि अवरुद्ध भएको छ। अहिले फेरि सुरु गर्दा पहिलाको जस्तो गर्न सकिन्न कि भन्ने चिन्ता लाग्ने गरेको उनले बताए। 

मोडर्न र साँस्कृतिक दुवै नृत्य सिकाउने देबु विशुद्ध लोक साँस्कृतिक नृत्य देखाउन पाउँदा निकै आनन्द हुने गरेको बताउँछन्। उनी भन्छन् ‘सबै खाले नृत्य सिकाउने र नाचे पनि सुदूरपश्चिमेली छलिया, हुड्केउली, थारु र डाठी भाकामा गरिने नृत्यमा मेरो विशेष अभिरुची छ।’

पहिरन र गहनामा कहिल्यै सम्झौता नगर्ने देबुको नृत्य देखेर सबै उमेरका मान्छे मन्त्र मुग्ध हुने गरेको उनको विश्वास छ। देबुले देशविदेश धेरै ठाउँमा नृत्य देखाउँदै आइरहेका छन्। काठमाडांैमा सुरुका दिनमा उनलाई क्यान्डिल नृत्यले नै चिनाएको हो। विगतमा रातारात चर्चाको शिखरमा पनि त्यही नै नृत्यले पुर्‍याएको हो। जुन नृत्य नै गर्न नपाउँदा निकै दुःखीत भएको उनले सुनाए। उक्त नृत्य देखाउन देबुले हल पाइरहेका छैनन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस