‘बैतडा चुकचाटा भौतै’ र ‘अछामी बड्डो’ गीतविरुद्ध उजुरी
धनगढी : सुदूरपश्चिमका देउडा भाकामा गाइएका २ गीतविरुद्ध उजुरी परेको छ। यी दुवै देउडा गीतमा प्रयोग भएका शब्दप्रति आपत्ति जनाउँदै संचार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेको हो।
१ सय ३२ जना कलाकारले स्वर दिएको ‘न्याउल्या’ ३ वर्ष अघि रिलिज भएको थियो। सोही गीतमा ‘बैतडा चुकचाटा भौतै, मतलबीका यार..’ भन्ने शब्दप्रति आपत्ति जनाउँदै बैतडीको सलेनाका दिपेन्द्र चन्दले उजुरी दिएका छन्। उनले ती शब्दले बैतडीबासीलाई होच्याएको आरोप लगाएका छन्।
यस्तै ‘अछामी बड्डो भाग २’ मा ‘अछाम जाँदैन, अछामी हरामी हुन्छन्....’ भन्ने शब्दावलीप्रति पनि आपत्ति जनाइएको छ। दुवै गीतका शब्दहरुले अछाम र बैतडीवासीप्रति घृणा’ पैदा हुने जिकिर गरिएको छ।
‘बालबालिकाहरुका कलिला मस्तिष्कमा यो गीतका शब्दहरुले सानैदेखि बैतडी र अछामवासीप्रति नकारात्मक धारणा बन्न सक्छ। नेपालको संविधानको धारा १६(१) र १८(२) बिपरित सम्मान पूर्वक बाँच्न पाउन हक र क्षेत्रियताका आधारमा विभेद गर्न नहुने हकमाथि आघात पुगेको छ’ उजुरीमा भनिएको छ।
विद्युतिय कारोवार ऐन २०६३ अनुसार कारवाहीको माग गर्दै दुबै गीतलाई प्रतिबन्ध लगाउन र युट्युबबाट भएको आम्दानी नेपाल सरकारको राजश्वमा जम्मा गर्न माग गरिएको छ।