कञ्चनपुरको पुनर्वासमा रामलीला महोत्सव
कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा कोरोना माहामारीका कारण दुई वर्षदेखि रोकिएको रामलीला महोत्सव यस वर्ष पुनः सुरु गरिएको छ।
पुनर्वास नगरपालिका–८, क–गाउँ स्थित कोटेश्वर महादेव मन्दिरको आयोजनामा हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित रामलीला महोत्सव बिहिबारदेखि बागिश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु गरिएको हो। पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले महोत्सव सञ्चालनका लागि आर्थिक अभाव हुन नदिने बताए।
कोटेश्वर महादेव मन्दिरको नाममा रहेको पाँच कट्ठा जमिन अरुले भोगचलन गर्दै आएकोमा नगरपालिकाको न्यायिक समितिमा दुई पक्ष छलफल गराई सहमतिमा नआए अदालतबाट समाधान खोजिने उनले बताए। घटस्थापनाका दिनदेखि सुरु भएको रामलीला महोत्सव असोज २८ गते सम्पन्न हुने आयोजक समितिले जनाएको छ।