शाहरुखका छोरा आर्यनलाई १४ दिनका लागि न्यायिक हिरासत पठाइयो
काठमाडौं: लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई १४ दिनका लागि न्यायिक हिरासतमा राख्न मुम्बइ अदालतले अनुमति दिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहिबार अदालतले ड्रग्स केसमा पक्राउ परेका आर्यनसहित अन्य ६ जनालाई न्यायिक हिरासतमै राखेर छानविन गर्न अनुमति दिएको हो। गत साता मुम्बईमा पार्टी भइरहेको जहाजमा लागु औषधको व्यापार र प्रयोग गरिएको भेटिएपछि भारतको लागु औषध नियन्त्रण ब्युरो (एनसिबी)ले अनुसन्धान गरिरहेको छ।
हालसम्म यो मुद्दामा १७ जनालाई एनसिबीले गिरफ्तार गरिसकेको छ। यस्तै शुक्रबार अपरान्ह अदालतले धरौटीका लागि आर्यनले गरेको अपिलबारे सुनुवाइ गर्नेछ।