सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटकमा भाइरल केरा खाने भिडियो बनाउने च्यालेन्जले देश निकाला !

२०७८ कार्तिक २२, ०३:५३ खबर संवाददाता

काठमाडौंः पछिल्लो समय टर्कीमा बस्दै आएका सिरियाली मानिसहरुबीचमा अनौठो ट्रेण्ड चलिरहेको छ। केरा खाँदै, केराकै विषयमा जोक गर्दै गरेका भिडियोहरु सोसल मिडियामा अपलोड गरिरहेका छन् उनीहरु। टिकटकमा भाइरल बनिरहेका भिडियोहरुमा केरा खाएर जोक गर्ने च्यालेन्ज निकै फैलिरहेको छ।

यी भिडियोहरु आपत्तिजनक देखिँदैनन् र टिकटकको न्यूनतम मापदण्ड भन्दा पनि बाहिर छैनन्। तर यी भिडियोहरु स्वयं जोक गर्ने सिरियाली नागरिकहरुका लागि भने गलपासो बन्दैछन्। घृणा फैलाउनका लागि उत्तेजक तबरले सिरियनहरुले केरा खाएको आरोप टर्किस अधिकारीहरुले लगाएका छन्। त्यसरी केरा खाएर जोक गर्दै भिडियो हाल्ने दर्जनौँ सिरियालीहरु पक्राउ परिसकेका छन् र उनीहरुलाई देश निकाला गरिँदैछ। टर्कीमा रहेको ठूलो सिरियन समुदायको बीचमा तिक्तता बढिरहेको बेला केरा विभाजनको प्रतीक बनेको छ।

बनना च्यालेन्ज भिडियो पछाडिको कथा यस्तो छ 

टर्कीको पछिल्लो खराब आर्थिक अवस्थाका विषयमा सिरियन र टर्किस व्यक्तिहरुबीच भएको तातो बहसको भाइरल भिडियोबाट यो केरा च्यालेन्ज प्रभावित भएको हो। टर्कीमा पछिल्लो उच्च मुद्रास्फितिका कारण जनजिविका प्रभावित हुँदै गएको छ। उक्त भिडियोमा एकजना सिरियाली युवतीले फरर्र टर्किस भाषामा बोल्दै शरणार्थीहरुको कार्य नैतिकताको विषयमा बचाउ गरिरहेकी हुन्छिन्। तर त्यसको जवाफमा एक टर्किस नागरिकले चाहीँ सिरियन र अफगानहरुले जागिरमा ठाउँ ओगटेकै कारण टर्किसहरुले आफ्नै देशमा जागिर पाउन छाडेको दाबी गर्दछन्।

विश्वमा सबैभन्दा धेरै शरणार्थी भएको मुलुक टर्कीमा ३६ लाख सिरियाली शरणार्थीहरु छन्। आर्थिक अवस्था कमजोर हुँदै जाँदा टर्कीमा आप्रवासी विरोधी आवाजहरु मुखरित हुँदै गएका छन्। तर उक्त भिडियोलाई भाइरल बनाउने काम एक टर्किस मानिसको भनाईले गरेको छ। जसमा उनले आफुले बजारमा एकजना सिरियालीले एक किलो केरा किनिरहेको आफुले देखेको बताउँछन्। जबकि १ किलो केरा किन्ने आफ्नो चाहीँ हैसियत नभएको उनको भनाई छ।

उनको त्यो भनाई तथा आवाज टर्कीमा रहेका सिरियालीबीच एकाएक भाइरल बन्यो। उनीहरुले टिकटकमा त्यहीँ आवाज प्रयोग गर्दै केरा खाँदै, मुसार्दै गरेका वा केराका चित्रयुक्त फिल्टर वा मेम्स राखेर टिकटक भिडियो बनाउन थाले।केराको खिसिट्युरी टिकटकमा हँसिमजाकको विषयको रुपमा मात्र रहेन। एकजना व्यक्तिले टर्किस झण्डाको ठाउँमा केराको तस्वीर राखेर भिडियो पोष्ट गरेपछि त्यसले विवाद उत्पन्न गरायो। नवगठित राष्ट्रवादी पार्टीले टर्किस जनता र झण्डाको अपमान गरेको भन्दै ती टिकटक प्रयोगकर्ता विरुद्ध उजुरी दियो।

अनलाइनमा केरालाई हतियार बनाएर सिरियन शरणार्थीहरुले आफ्नो मुलुकको आर्थिक अवस्था तथा जनताकै खिसिट्युरी र बेइज्जती गर्न थालेपछि टर्किस अधिकारीहरु क्रुद्ध भए। गत बिहिबार मात्रै टर्किस प्रहरीले यस्तो केराको जोक गर्दै टिकटकमा भिडियो हाल्ने ११ जना सिरियालीलाई पक्राउ गरेको र उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी देश निकाला गरिने बताएको छ। त्यस्तै राजधानी इस्तानबुलमा केरा च्यालेन्जका बारेमा टेलिभिजन रिपोर्ट तयार पार्ने एक सिरियाली पत्रकारलाई पनि प्रहरीले पक्राउ गरेको छ। टर्कीको आप्रवासन महानिर्देशनालयका अनुसार यस्तो भिडियो राख्ने अभियानमा संलग्न हरेकलाई कारवाही गरिने जनाएको छ। बीबीसीबाट

कमेन्ट लोड गर्नुस