बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन
बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन छन्। नयाँ संरचनाअनुसार जिल्लाका स्थानीय निकाय ८४ वडामा विभाजित भएका र सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठीन भएको छ।
साविकका ६८ गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १५ मा स्वास्थ्य संस्था नभएको जिल्ला अस्पतालका डा जगदीशचन्द्र विष्टले जानकारी दिए। स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ।
नयाँ संरचनाअनुसार कुनै वडामा दुई स्वास्थ्यचौकीसमेत परेका छन्। सरकारले स्वास्थ्य सेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि सरकारले प्रदान गर्ने निःशुल्क सेवासमेत उपभोग गर्न नपाएको स्थानीय बासिन्दाको गुनासो छ। नयाँ संरचनाअनुसार आफ्नो वडामा स्वास्थ्यचौकी नपर्दा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ।
हरेक वडामा स्वास्थ्यचौकी नहँदा बैतडीका केही महिला घरमै बच्चा जन्माउनसमेत बाध्य छन्। भौगोलिक बिकटताका कारणले पनि स्वास्थ्य संस्थामा पुग्न नसक्ने र स्वास्थ्यचौकी पायक पर्ने ठाउँमा नहँुदा सुत्केरी महिला घरमै बच्चा जन्माउन बाध्य भएका हुन्।
जिल्लाका स्वास्थ्यचौकी नभएका बाँकी १५ वडामा स्वास्थ्यचौकी स्थापनाका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग भइसकेकाले छिट्टै समस्या समाधान हुने उक्त कार्यालयका प्रमुख निशा जोशीले बताए। रासस