राहत फतेह अली खान, पल्लवी लगायतका गायकले गाए, ‘प्रेम गीत ३’ को गीत
काठमाडौं: नेपाली फिल्म प्रेमगीतको तेस्रो सिक्वेल आगामी फागुन १३ गते मुलुकभर प्रदर्शन हुँदैछ। रिलिजमा ढिलाइ भएपनि फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा भने फाइदा पुगेको छ। यो फिल्मको भारतको वितरण अधिकार इम्पोसिबल नामक भारतीय कम्पनीले लिएको छ।
फिल्म निर्माण कम्पनी आसुसेन फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै हिन्दी संस्करणको पोस्ट-प्रोडक्सन करिब अन्तिम चरणमा पुगेको जनाएको छ। हिन्दी संस्करणको सांगीतिक कार्य सकिएको निर्माता सन्तोष सेनले बताएका छन्।
चलचत्रिको हिन्दी संस्करणको गीतहरुमा पार्श्व गायक गायिकामा बलिउडका चर्चित गायक, म्युजिसियन तथा गीतकार आवद्ध रहेका छन्। राहत फतेह अली खानले ‘ये सनम तुही तु..’ बोलको गीतमा आवाज दिएका छन्।
त्यस्तै अर्को गीत ‘तुम प्यार हो’ मा अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन्। त्यस्तै अर्को डान्स नम्बर ‘मुझ्मे बस् जना’ मा देव नेगी र पलक मुछालले स्वर भरेका छन्। यसमा चर्चित गीतकार कुमार र एम तुराजको लेखन रहेको छ।