साउथ इन्डियन ‘फ्लेभर’ मा बनेको डोटेली चलचित्र ‘माउडे’को ट्रेलर सार्वजनिक(भिडिओसहित)
धनगढीः डोटेली भाषामा बनेको ‘मास मसाला’ चलचित्र ‘माउडे’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रका निर्माता जीवन सिंहले आफ्नो युट्यूब च्यानलनमा शुक्रवार उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन्। साउथ इन्डियन ‘फ्लेभर मा बनेको उक्त चलचित्रमा उनले लभ र एक्सन सँगै दिन खोजेका छन्।
कलिवुडमा नेपाली भाषामा नै विभिन्न चलचित्र निर्माण हुने भएकाले सुदूरपश्चिम चिनाउने डोटेली भाषालाई सम्बद्र्धन तथा संरक्षण गर्न डोटेली भाषामा चलचित्र बनाइरहेको उनले बताए। भारतमा हिन्दी भाषा बाहेक तेलगु भाषामा बनेका चलचित्र हिट भइरहेका छन्। सोही कारण नेपालमा पनि डोटेली भाषालाई चर्चित बनाउन आफूले प्रयास गरिरहेको जीवनले बताए। उक्त चलचित्र निर्माणमा १५ लाख बजेट लागेको बताइएको छ।
जीवन सिंह र सुरज भण्डारी निर्माता रहेको माउडेको राज ए भट्ट र दामोदर साउँद सह–निर्माता रहेका छन्। उक्त चलचित्रको निर्देशन, कथा, सम्पादन, छायांकन, पटकथा र संवाद स्वंय जीवनले हेरिरहेका छन्। यस्तै नरेश सिंह, मनीषा बोहरा, इशा बम, सुरज भण्डारी, लाल थापा, हर्क क्षेत्री, निरज भण्डारी, राम सिंह लगायतको कलाकारिता माउडेमा हेर्न पाइनेछ। माउडे माघ २१ गते महेन्द्रनगर र धनगढीका हलमा लाग्ने बताइएको छ।