‘न बिर्सें तिमीलाई’को नयाँ भर्सनबारे अञ्जु भन्छिन्ः चिन्ता लागेको छ
काठमाडौंः गीतकार विपिन किरणले एक दशकअघिको सुपरहिट गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’लाई फेरि गायिका रचना रिमालको स्वरमा सार्वजनिक गरे। गीत सार्वजनिक भएसँगै विपिन र रचना विवादमा तानिएका छन्। गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीत रहेको यो गजल गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएको हो। नयाँ भर्सनमा न त अञ्जु पन्तको नाम नै उल्लेख गरिएको छ, न त यसलाई कभर गीत नै भनिएको छ।
यो विषयमा आम श्रोता र संगीतकर्मीहरुले आलोचना गरिरहेको बेला गायिका अञ्जु पन्तले पनि आफ्नो भनाइ सार्वजनिक गरेकी छन्। हाल अमेरिकामा रहेकी अञ्जुले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भर्खरै पुनः रेकर्ड भएर युट्युबमा सार्वजनिक भएको ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ। नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जनजनको मुटुमा बस्न सफल यो गीतपछि पुरुष स्वरमा गायक जगदीश समालले पनि गाउनुभयो। आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको यो गजललाई नयाँ गायक–गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन, त्यो विषयमा मेरो केही भन्नु छैन। केही समय अगाडि विपिन किरण भाइले यो गजलको नयाँ एरेञ्जमा मेरो स्वरमा नै रिरेकर्ड गर्ने भन्नुभएको थियो। सोही अनुसार एरेञ्जर महाराज थापाले गर्नुभएको नयाँ एरेञ्ज मलाई पठाउनुभएको थियो। हामी समय अनुकूल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौं।’
अञ्जुले विपिनले आफूलाई कभरको रुपमा किड्स भर्सन नयाँ भाइबहिनीलाई गाउने दिने कुरा गरेको र यसमा आफूले खुसीसाथ हुन्छ भनेको पनि उल्लेख गरेकी छन्। अञ्जुले अगाडि लेखेकी छन्, ‘अहिले नयाँ भर्सन गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ। मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैं स्वागत, आर्शिवाद र धेरै माया छ र रहिरहनेछ। उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दुस्खद् र अन्यायपूर्ण कुरा हो। के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाई थाहा भएन। म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ।’
अञ्जुले यो विषयमा विवाद र चर्चा नगरी दर्शक श्रोताको मागअनुसार समाधानको नयाँ उपाय निस्कनेमा आफू आशावादी रहेको पनि उल्लेख गरेकी छन्। साथै, उनले भोलिका दिनमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन आउने छैन भनेर आशा व्यक्त गरेकी छन्।