र्यापर स्नुप डगविरुद्ध यौन दुर्व्यवहारको आरोप, मुद्दा दायर
एजेन्सीः अमेरिकी र्यापर स्नुप डगविरुद्ध एक महिलाले यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी छन्। तर ती महिलाको पहिचान खुलाइएको छैन। ती महिलाका अनुसार स्नुप डगले २०१३ को एक कन्सर्टपछि उनीमाथि दुर्व्यवहार गरेका थिए। उक्त घटनालाई लिएर ती महिलाले बुधबार मुद्दा दायर गरेकी हुन्। चर्चित र्यापर स्नुप डग लस एन्जलसस्थित अन्य हिप हप कलाकारहरूको साथमा प्रस्तुती दिने तयारी गरिरहँदा ती महिलाले मुद्दा दायर गरेकी हुन्।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार नृत्य र अभिनयको क्षेत्रमा ती महिला जान डो को नामले चिनिन्थिन्। उनी पहिले स्नुप डगसँग मिलेर पनि काम गरेको बताइन्छ। स्नुप डगको वास्तविक नाम भने केल्भिन ब्रोडस हो। उनी स्टेजमा भने स्नुप डगले चिनिने गरेका हुन्। पीडित महिलाका अनुसार उनी बाथरुम भित्र रहेका बेला स्नुप डग अचानक प्रवेश गर्दै उनलाई यौन सम्पर्कका लागि जबर्जस्ती गरेको ती महिलाले उजुरीको क्रममा उल्लेख गरेकी छन्।
पीडित महिलाले यदी त्यस बेला उजुरी दिएको भए आफ्नो पेशा नै धरापमा पर्ने डरका कारण घटना भएको समयमा उक्त कुरा गोप्य नै राखेको उजुरीमा लेखेकी छन्। साथै सुरक्षाका कारण पनि आफूले त्यसबेला केही नबोलेको उनको भनाइ छ। महिलाले स्नुप डगको प्रभाव र प्रभुत्वका कारणले दबाब महसुस गरेको र यदी डगको चित्त दुखाए संगीत उद्योगमा कहिल्यै फर्कन नपाउने डरका कारण त्यस बेला उजुरी नदिएको बताएकी छन्।
तर स्नुप डगले यसबारे मिडियासँग केही प्रतिक्रिया दिएका छैनन्।