प्रेमपत्र (कविता)
-इन्दु धामी
मानिसलाई कैद गर्ने
फैसला लेखिरहेछ न्यायाधीश
चाकडीका पर्दाहरु थिचेर हार्मोनियमकको
संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ
बिलमा मन्त्रीको दाम लिखिरहेछ व्यापारी
गायक ठूलो जागिर दिनेको गीत गाइरहेछ
प्रोफेसर विषालु शोधपत्र लेखाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र लेखिरहेछु !
सपना, एउटा नौलो मानिस पर्खिरहेछ
उता छोरीको यौवन बलात्कार पर्खिरहेछ
सबै किसिमका नदीहरूमा
एकैचोटी आउने बाढी देशले पर्खिरहेछ
मसानघाट, प्रजातन्त्रको लास पर्खिरहेछ
एउटा म छु एकान्त कुनामा
तिम्रो प्रेमपत्र पर्खिरहेछु !
सम्झौता नवीकरण गर्न प्रतिनिधि पठाइरहेछ
नेता, केटीहरूलाई वेश्यालय पठाइरहेछ
बाबु, छोरालाई दर्बानालय पठाइरहेछ
सरकार, युवक बेच्ने–किन्ने
छोरो, अस्पतालमा पुर्याएकै दिन
आमा स्वर्गे भएको खबर घरतिर पठाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र पठाइरहेछु !
पुरस्कृत सफल भ्रष्टाचारी प्रशंसापत्र चुमिरहेछ
सम्मानित स्मगलर अभिनन्दनपत्र चुमिरहेछ
हाकिमको पाउ चुमिरहेछ जागिरे
चुमिरहेछ बन्दुकले मानिसको छाती
म छु एउटा एकान्त कुनामा
तिम्रो प्रेमपत्र चुमिरहेछु !
धूर्तताको बाइबल पढिरहेछ पादरी
मौलवी जल्लादहरुसँगै कुरान पढिरहेछ
सुनको धम्मपद पढिरहेछ लामा
ब्राह्मण पढिरहेछ षडयन्त्रको गीता
म छु एउटा एकान्त कुनामा
तिम्रो प्रेमपत्र पढिरहेछु !