दुबई हिडेका ३५ कलाकारको टोलीलाई अध्यागमनले किन रोक्यो ?
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित अध्यागमन कार्यालयले सांगीतिक अवार्डको लागि युएईको दुबई जाने तयारीमा रहेका ३५ जना नेपाली कलाकारलाई प्रस्थानमा रोक लगाएको छ। गत माघ १० गते गृह मन्त्रालयले गरेको भिजिट भिसा सम्बन्धी परिपत्रअनुसार उनीहरुलाई रोक लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए।
मन्त्रालयले उक्त मितिदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मको लागि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको छ। शुक्रबार अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट कलाकारको उक्त जम्बो टोली दुबईतर्फ जाने तयारीमा थियो। ‘फ्रेस पासपोर्टमा दुबईमा पठाउँदा समस्या पर्ने देख्यौं। खाडीबाहेकका अन्य दुई वटा मुलुकको भिजिट भिसा भए अनुमति दिन सकिन्थ्यो तर उहाँहरुले दिउँसोसम्म त्यो प्रमाण ल्याउन सक्नुभएन’ सूचना अधिकारी उपाध्यायले भने, ‘३५ जनामध्ये केही योग्य भएर पनि जान पाउनुभएन। अन्य रोकिँदा उहाँहरु पनि रोकिनुभयो।’
कलाकारको उक्त जम्बो टोलीमा मोडल दीपाशा बिसी पनि सहभागि रहेको अध्यागमनले जनाएको छ। ‘दीपाशाजीले अन्य मुलुक पनि घुमिसक्नुभएको रहेछ । उहाँ योग्य भएर पनि रोकिनुभयो’ उपाध्यायले भने।