कलाकार जयनन्द लामाको निधन
काठमाडौं : लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। बुधबार बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा लामा मृत फेला परेका उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले बताए।
पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका उनले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्रमा समेत अभिनय गरेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले मनको बाँध, छक्कापञ्जा लगायतका चलचित्रहरुमा अभिनय गरेका थिए। उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए।
२०२७ सालबाट लोकगीत गाउन सुरू गरेका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, पानको पात जस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।