पलले आरोप लगाएपछि दुर्गेश थापा बोले, भन्छन्, ‘विवाह गर्ने कुरा भएकै हो’
काठमाडौँ: नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै गायक दुर्गेश थापासहित म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाईको नाम सार्वजनिक गरेका छन्।
बिहीबार पलले सामाजिक सञ्जालमा अडिओ क्लिपसहित उनीहरुको नाम उल्लेख गरेपछि गायक थपा उक्त प्रकरणमा बोलेका छन्। उनी भन्छन्, , ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’
दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्। ‘हामीले छलफल गरेको घटना घटिसकेपछिको कुरा हो। अडियोमा त हामीले बोलेको हो, के के बोलेको पनि छ। भोलि ठूलो टेन्सन नहोस् भनेर नै हामीले कुरा गरेका थियौँ। हामीले पहिला पनि मिलाएका नै थियौँ। दुई वर्षपछि विवाह गर्ने समझदारी थियो’ उनले भने।
‘नाबालिकाले नै पटक–पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’ उनले थप्दै भने, ‘अहिलेसम्म साथी हो, उसको कुरा बाहिर नआओस् भनेर नबोली हिँडेको हो, उसले नै बोल्छ भने अब हामी पनि बोल्छौँ।’
नायक पल शाह विरुद्ध बुधबार तनहुँको प्रहरी कार्यालयमा नाबालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेको थियो। १७ वर्षीया गायिकाले उनीविरुद्ध उजुरी दिएकी थिइन्।