डडेल्धुराको आलिताल किन पुगिन् मोडेल करिस्मा ढकाल ?
मनोज रावत, डडेल्धुरा: चर्चित मोडल करिस्मा ढकाल यतिबेला डडेल्धुराको आलिताल पुगेकी छिन्। उनीसहित मोडेल खगेन्द्र बिष्ट एक म्यूजिक भिडियोको छायांकलन गर्न आलिताल पुगेका हुन्।
त्यस क्षेत्रबाट मोडलिङ क्षेत्रमा उदाउँदै आएका बिष्टको पहल र आलिताल गाउँपालिकाको आर्थिक सहयोगमा बुधबार उक्त म्यूजिक भिडिओ आलितालका विभिन्न पर्यटकीय स्थलहरुमा छायांकन गरिएको बताइएको छ। आलिताल पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने हेतुले उक्त म्यूजिक भिडिओ बनाउन लागिएको निर्देशक रमेश बिजुली बिसीले बताए।
भीम बिसीको संगित र बिक्रम कुमार÷मेलिना मैनालीको स्वर रहेको ‘सुनको तोलिमा, सक्कर छ कि चिनी साइबउ तिम्रा बोलीमा’ बोलको गीतको म्यूजिक भिडियो छायांकन गरिएको निर्देशक बिसीले बताए। म्यूजिक भिडिओ छायांकनका क्रममा आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ र वडा नम्बर ३ का अध्यक्ष लोकेश महरा पनि उपस्थित रहेका थिए। दुवैले म्यूजिक भिडिओ छायांकनका लागि आलिताल पुगेका कलाकार टिमलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेका थिए। उक्त म्युजिक भिडियो २ हप्ता भित्रै सार्वजनिक गरिने बताइएको छ।