जनताको बिन्ती(कविता)
सपना देखाएर कति भागी हिड्छौ मशिहा भनाउँदा देशका
हेर बित्यो ०७ दशक, बिते कति पुस्ता फुलिसके जवानी केशका
फेर्यो कति पिपलु ले पालुवा केवल साक्षी छ त्यहि चौतारी
कसले रोक्यो किन भयो अलमल किन बन्न सक्दैनौ अवतारी
उठौ भन्छौ उठ्छन सब जन तब तिमी बस्दछौ धित मारी
पुस्तौ पुस्ता पुग्ने दौलत तिमिकन आयो भित्रै बाट कि पारी
कुर्कुच्चा फुट्या उसको मैलो छ दौरा छ हृदयको सज्जन
उही थियो तिम्रो पहिला हात त्यो दाहिने अहिले भयो अजन
स्रोत तिमी सँगै, फैसला तिम्रो किन हुन्न जनको कार्य पूर्ण
उठबस उतै, मन उतै तिम्रो के पुग्या हो र जनको गुण
फर्केर हेर एक पटक बरपिपल चौतारी, चौतारीका बटुवा
भन्दैछन् जनले के भोजन गर्यौ तिमीले किन भयौ एति ढटुवा
उसलाई गार्हो पाल्न लाला–बाला, जहान, वृद्ध ती बाबा आमा
तिमी सयर गर्छौ पुष्पक विमान, उसलाई हातमुख जोर्न धामा
बिन्ती एकपटक बनिदेउ मशिहा, तिमी मरी के पो लान्छौ नि
छैन ठूलो सपना, सहज जीवन मर्न पाउ के यति भन्या मान्छौ नि
–सरोज दाहाल, बैतेश्वोर–०४, काब्रे, दोलखा