पलको बयानः सुत्ने बेला गुडनाइट भनेर फर्किएको हुँ, जबर्जस्ती गरेको होइन
काठमाडौंः एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ। उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ।
पलविरुद्ध गैँडाकोटमासमेत उजुरी परेपछि उनलाई मंगलबार त्यहाँ लगिएको थियो। उनले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका छन्। १७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उनले पहिलो उजुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन्। सोही उजुरीका आधारमा उनलाई गैँडाकोटमा बयानका लागि लगिएको हो।कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्।
प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौं। राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ। जबर्जस्ती गरेको होइन।” उनले आफू र आफूविरुद्ध उजुरी दिने गायिकाको कोठा भने सँगसँगै रहेको बताएका छन्। प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ। अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको छ।