सुदूर नेपाललाई विश्वसँग जोड्दै

पलको हिरासत बसाइ लम्बियो, तत्काल थुनछेक बहस नहुने

२०७८ चैत्र ६, ०४:४४ खबर संवाददाता

काठमाडौंः तनहुँमा थुनछेक बहसपछि मात्रै अभिनेता पल शाहलाई नवलपुर लगिने भएको छ। नवलपरासी पूर्वी जिल्ला अदालतमा मुद्दा दर्ता भइसके पनि पलविरुद्ध त्यहाँ तत्काल थुनछेक बहस नहुने भएको हो। गत बिहीवार उनीविरुद्ध बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै नाबालिगका आफन्तले बलात्कारको अभियोगमा जाहेरी दिएकाले तनहुँ अदालतमा थुनछेक बहसपछि मात्रै नवलपुर पठाइने भएको हो। जिल्ला अदालतले तनहुँमा थुनछेक बहस सकिएपछि पललाई नवलपुर पठाइदिन पत्र पठाइसकेको अदालत स्रोतले जनाएको छ। तनहुँ अदालतमा थुनछेक बहस सकिएपछि यता पठाइदिन भनेका छौं। त्यहाँ पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि नभए पनि अभियुक्तलाई यहाँ ल्याइन्छ,’ अदालत स्रोतले भन्यो। 

यसअघि बयानका लागि नवलपुर लगिएको थियो। एकसाता गैंडाकोटमा राखेर पललाई पुनः तनहुँ पठाइएको थियो। गैंडाकोटमा २०७७ चैत ७ गतेको घटना भएकाले पहिले गैंडाकोटमा पीडित पक्षका आफन्तले किटानी जाहेरी दिएका थिए। एक वर्षभित्रमा मुद्दा दर्ता गरिसक्नु पर्ने कानूनी व्यवस्था छ। तनहुँमा भने गत असारको घटना भएको पीडितको जाहेरीमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलमार्फत केही दिनभित्रैमा मुद्दा दर्ता गर्ने तयारी भएको जनाएको छ। अभियुक्तलाई पक्राउ गरेको २५ दिनभित्रमा मुद्दा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ। 

गत फागुन १५ गते पल आफैं प्रहरी कार्यालयमा हाजिर भएका थिए। हिरासतमा भएको आज २१ दिन पुगेको छ। पछिल्लो पटक गत शुक्रवार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । यसअघि पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिन म्याद थप भएको थियो। जिल्ला अदालत नवलपुरमा उनलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रूपैयाँ जरिवाना गर्न माग गरिएको छ। उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग १५ वर्ष ८ महिना ४ दिनको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

१८ वर्षभन्दा कम उमेरका नाबालिगलाई सहमतिमै करणी गरे पनि बलात्कार मानिने कानूनी व्यवस्था छ। १४ देखि १६ वर्ष उमेरका नाबालिग बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था कानूनमा छ।

कमेन्ट लोड गर्नुस