आजदेखि ३८ देशका ८९ फिल्म हेर्न पाइने
काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदै छ।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाडौंको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा चैत २१ गतेसम्म चल्ने छ।
भौतिक रुपमा सञ्चालन हुने यो महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ राखिएको छ।
आज पहिलो दिन राष्ट्रिय सभागृहमा साँझ साढे ५ बजे डा. पुरु लम्सालको ‘गुरु पर्व’ प्रदर्शन गरिने छ।
महोत्सव अवधिभर ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्रहरु प्रदर्शन एवम् प्रतिस्पर्धा हुने छ।
ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा–छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने निफका अध्यक्ष केपी पाठकले बताए।
गत वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा निफ आयोजना गरिएको थियो । निफ महोत्सवले विश्वसामु नेपाली चलचित्रको प्रवर्द्धन गर्दै नेपाली पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।